
काठमाडौं – चिनियाँ ह्याकरले नेपालका विभिन्न बैंकका एटीएम ह्याक गरेर पैसा चोरी गरेकोबारे अध्ययन गरेको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले निष्कर्ष निकाल्न सकेन ।
केन्द्रीय बैंकको भुक्तानी विभागका निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनमा ह्याकरको अनधिकृत प्रवेश कुन नेटवर्कमा भयो भनेर स्पष्ट खुलाइएको छैन ।
समितिले नेपाल र भारतका विभिन्न एटीएम मशिनबाट अनधिकृत रुपमा बढीमा ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ निकालिएको जनाएको छ । योमध्ये केही कारोबार वास्तविक रहेकाले चोरी भएको रकम घट्न सक्ने अनुमान समेत गरिएको छ ।
समितिको प्रारम्भिक अनुसन्धानबाट भदौ १४ गते शनिवार भिजा इन्टरनेसनलसँग आवद्ध नेप्सका सदस्य बैंकका कार्ड प्रयोग गरी बिहान १० बजेदेखि अपराह्न ४ः३५ बजेसम्म अनधिकृत रुपमा रकम चोरी भएको जनाइएको छ । प्रतिवेदन अनुसार नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरू प्रयोग गरी १८ वटा बैंकका विभिन्न स्थानका ६८ एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय र भारतबाट ६ वटा नेपाली बैंकका विभिन्न कार्ड प्रयोग गरी भारतका २४ बैंकका १३२ एटीएमबाट भारतीय रुपैयाँ १ करोड ५ लाख ८७ हजार २ सय रुपैयाँ रकम निकालिएको छ ।
अध्ययन प्रतिवेदनको सारांश समेटेर जारी गरिएको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘भिजा नेटवर्क वा नेप्स स्वीच वा दुई प्रणालीको बीच कहीँकतै कसैले अनधिकृत रुपमा नियन्त्रण लिई उल्लेखित अवैधानिक कारोबार हुन गएको अनुमान रहेको छ । यस सम्बन्धमा फरेन्सिक विज्ञबाट प्रतिवेदन प्राप्त गर्नुपर्ने ।’ एटीएम ह्याकिङबारे अध्ययन गर्न गठित राष्ट्रबैंकको समिति अनुमानमै सीमित भएको छ ।
समितिले फरेन्सिक विज्ञबाट घटनाको सूक्ष्म अनुसन्धान गराउनुपर्ने सुझाव दिएको छ । प्रहरीले केही चिनियाँ अभियुक्तलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको भएपनि भाषा र प्राविधिक ज्ञानको अभावले समस्या भइरहेको जनाइएको छ ।
प्रहरीले ६ चिनियाँ र ३ नेपालीलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ । बैंकिङ प्रणालीमा ह्याकरले अनधिकृत रुपमा प्रवेश गरेर रकम चोरी गर्न सफल भएको घटनाले बैंकको प्राविधिक सुरक्षामा प्रश्न उठेको छ ।
हेर्नुस् समितिको निष्कर्ष :-


