काठमाडौं – डोरियन आँधीका कारण बहामासमा २० जनाको मृत्यु भएको आधिकारिक आँकडा सार्वजनिक भएको छ । यो संख्यामा थप वृद्धि हुन सक्ने देशका प्रधानमन्त्रीले बताएका छन् ।
बहामासको उत्तरी क्षेत्रमा एउटा पुस्ता नै विनाशको स्थितिमा पुगेको उनले चेतावनी दिए ।
आबाटो द्वीपसमूहको हवाई भिडियो हेर्दा चारैतिर विनाश देखिन्छ । बन्दरगाह, पसलहरू, कार्यस्थलहरू, अस्पताल र विमानस्थलका धावनमार्गहरू ध्वस्त भएको देखिन्छ । यी सबैले गर्दा उद्धारकार्यमा समस्या आएको छ ।
‘धेरै परिवारहरूमा डोरियनले गहिरो असर पारेको छ र आबाको तथा ग्रान्ड बहामामा पुस्ता नै विनाशको स्थितिमा छ,’ प्रधानमन्त्री हबर्ट मिन्निसले एक पत्रकार सम्मेलनमा बताए ।
आबाकोसमा लुटपाट मच्चिएको खबरका बारेमा आफू अवगत रहेको मिन्निसले बताए ।
उद्धारकर्ताहरूले अझै पनि धेरै ठाउँमा पहुँच नपाएकाले विनाशको पूर्ण आकलन अझै पनि गर्न सकिएको छैन ।
एक अनुमानअनुसार, ७० हजार मानिसलाई आँधीले प्रत्यक्ष असर पारेको छ ।
द गार्डियनबाट