म्याग्दी, १८ चैत– सोह्रौँ शताब्दीका महान वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ ।
भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक अनुसन्धानपछि पूर्णता प्राप्त गरेको हो ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका चालिस बर्षीय अनुसन्धानकर्ता भवीन्द्र कुँवर सुल्झिन नसकेर रहेको उक्त भौतिक शास्त्रीय समस्याको वास्तविक कारण र आखिरी समाधान पहिल्याउन सफल भएका हुन् । कुँवरले यस विषयमा केही वर्षदेखि खोज निरन्तर रुपमा गरिरहेका थिए । उनले केही वर्षदेखि यस विषयलाई पुस्तक, प्रवचन र अनुसन्धनात्मक लेखमा उल्लेख गर्दै आएपनि परीक्षणले पूर्णता भने केही महिनाअघि मात्र प्राप्त गरेको हो ।
सन् १५६४ मा इटालीमा जन्मिएका महान वैज्ञानिक ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा भौतिक शास्त्रका क्षेत्रमा एउटा परीक्षण प्रयास थालेका थिए । त्यसपछिका न्युटन, एलम्बर्ट, इउलर, ह्यामिल्टन, आइन्स्टाइनजस्ता वैज्ञानिकले आफ्नो जीवनको धेरैजसो भाग त्यही प्रयासको वरिपरि बिताउँदा पनि समस्या सल्टिन सकेको थिएन ।
इटालीमा आफ्नो अध्ययन पुरा गरी हाल काठमाडौका विभिन्न अनुसन्धान संस्थामा सम्बद्घ रही अनुसन्धान गरिरहेका वैज्ञानिक कुँवरले भने, ‘यसका कारण लामो समयदेखि विश्वभरिका विश्वविद्यालय, कलेज र विद्यालयमा रहेका प्राध्यापक तथा शिक्षकले कामचलाउ सूत्रका भरमा अध्ययन–अध्यापन गराउँदै आएका थिए ।’
विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रमा प्रदर्शन गरिएका परीक्षण र प्रवचनका शृङ्खलापछि कुँवरले सन् २०१६ को डिसेम्बरमा उक्त समस्याको समाधानसँग सम्बन्धित अनुसन्धानपत्र प्रकाशित गरेका थिए । ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरु’ शीर्षकका ती दुई अनुसन्धानपत्र भौतिक विज्ञानका लागि चाबी सिद्ध हुने खोजकर्ता कुँवरको दावी छ ।
समस्यासँग सम्बन्धित सैद्धान्तिक, गणितीय र प्रायोगिक प्रमाण पनि अनुसन्धानपत्रमा संलग्न गरिएको छ । ‘विश्वमा हाम्राभन्दा धेरै सुविधासम्पन्न प्रयोगशाला छन् । लगानीको अभाव पनि छैन । तर आजसम्म यति गम्भीर समस्याको समाधान पहिल्याउन किन ध्यान दिइएन ? म आश्चर्यमा छु,’, कुँवरले आश्चर्य प्रकट गर्दै भने, ‘ ‘अनुसन्धान पत्र र सम्बन्धित समाधान पढेपछि यस विषयले हामीलाई मात्र होइन संसारका सबै भौतिक शास्त्रीलाई आश्चर्यमा पार्नेछ ।’
भौतिक शास्त्रमा कोठाभित्र गरिएका बैठक र छलफलबाट अमुक परिणाम निस्क्यो भनेर जानकारी गराउने प्रवृत्तिभन्दा आफू निकै टाढा रहेको बताउँदै कुँवरले भने, ‘भौतिक शास्त्रीय परिणाम निस्केपछि भएको के थियो भन्नेबारे सबैलाई खुलेर जानकारी गराउन सक्नुपर्छ र नतिजा परीक्षणबाट स्पष्ट रुपले देखाउन पनि सक्नुपर्छ ।’
भौतिक शास्त्रीय खोज तथा अनुसन्धान परीक्षण गर्दा सधैँ उही परिणाम आउने र प्रयोगशाला र प्रदर्शनमा खुलेर देखाउन सकिने खालका हुनुपर्ने धारणा कुँवरको छ । उनले अनुसन्धानपत्र सबैले अध्ययन गर्न पाउने गरी प्रकाशित गरेका छन् । यसखाले अनुसन्धानपत्र अध्ययन गर्न अन्य देशमा भने चर्को मूल्य तिर्नुपर्ने हुन्छ ।
ग्यालिलियोको योगदान के थियो ? खगोलशास्त्री तथा वैज्ञानिक ग्यालिलियो जन्मिनुभन्दा झन्डै दुई दशकअघि सन् १५४५ मा ‘अरस्तुको भौतिक शास्त्र’ शीर्षकको एउटा पुस्तक प्रकाशन गरिएको थियो । उक्त पुस्तकका लेखक ‘डोमिंगो डे सोटो’ थिए । सोटोले उक्त पुस्तकमा कुनै परिमाणको बल लगानी भएका बेला वस्तुमा देखिने चालका बारेमा अरस्तुले दिएको धारणाबारे उल्लेख गरेका थिए ।
‘अरस्तुको भौतिक शास्त्र’ प्रकाशन भएको दुई दशकपछि ग्यालिलियोको जन्म भएको थियो । आफू २० वर्षको हुँदा ग्यालिलियोले वस्तुलाई छड्के सतहमा गुडाएर ऐतिहासिक परीक्षण गरेका थिए । उनले गरेको उक्त परीक्षणलाई भौतिक शास्त्रीले विशेष महत्वका साथ लिने गर्दछन् । परीक्षणपछि ग्यालिलियोले दिएको सूत्रलाई यान्त्रिकीको एउटा शाखा किनेम्याटिक्सअन्तर्गत राखी अध्ययनअध्यापन गराइन्छ ।
ग्यालिलियोको सूत्रअनुसार प्रवेग र वर्गसमयको गुणनफलको आधा मात्रा विस्थापनको जम्मा मात्रासँग बराबर हुन्छ । पिन्डको सन्दर्भ नउठाइए पनि उनको यस मान्यतामा विस्थापनलाई बलसापेक्ष विषय मानिएको छ । ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा मूलतः गुरुत्वप्रवेगबारे जानकारी गराएका थिए र त्यसकै आधारमा विस्थापनको सूत्र बनाएका थिए ।
‘उक्त सूत्रको प्रयास पूर्ण नभएका कारण उक्त सूत्रले दिने विस्थापनको नतिजा वास्तविक विस्थापनभन्दा धेरै नै कम हुन पुग्दछ,’ कुँवरले भने, ‘भौतिकशास्त्रका लागि ग्यालिलियोले दिएको यो महान योगदानलाई न्युटन, ह्यामिल्टन, इउलर र आइन्स्टाइनले पनि गम्भीरताका साथ अध्ययन र प्रयोग गर्नुपर्दथ्यो । त्यसो नगरेका कारण भौतिक शास्त्रको जगमा डरलाग्दो समस्या निम्तिन पुग्यो ।’
भौतिक विज्ञान स्वतन्त्र विषय नहुँदै पुस्तक प्रकाशन गरेका वैज्ञानिकले ग्यालिलियोको योगदानको गहन अध्ययन गर्नुपर्ने धारणा कुँवरको छ । भौतिकशास्त्रको इतिहासको समीक्षा गर्दै कुँवरले भने, ‘उनीहरुले उक्त सूत्रलाई प्रवद्र्धन गर्न, विकास गर्न र प्रयोगयोग्य गराउनतिर धैर्यतापूर्वक समय दिएको देखिएन । समयमै ग्यालिलियोको योगदानको मूल्याङ्कन र यथोचित सदुपयोग नहुँदा विज्ञानप्रेमी र अध्येता झन्डै चार शताब्दीदेखि सही जानकारीबाट वञ्चित हुन पुगेका छन् । यसले हजारौँ अनुसन्धानलाई प्रभावित गरेको छ ।’
के छुटेको थियो ? खोजकर्ता कुँवरले अनुसन्धानपत्रमा विस्थापनको सूत्रमा भएका अपूर्णता र छुटेका विषयबारे गणितीय उदाहरणसहित स्पष्ट गरेका छन् । उनको ‘सुवातदेखि सुव्रतसम्म’ शीर्षकको अनुसन्धानपत्रमा एउटा रोचक उदाहरण दिइएको छ, ‘पृथ्वीबाट कुनै यान सरदरमा एकनास दूरी परिवर्तनको दर ९.८ मिटर प्रतिसेकेन्ड हुने गरी अन्तरीक्षतिर गइरहेको छ र उक्त यानले मानौँ १ वर्षसम्म एकनास यात्रा ग¥यो भने १ वर्षमा हुन जाने जम्मा विस्थापन कति हुन्छ ?’
यस सवालमा वास्तविक विस्थापनको मात्रा ४,८७,३१,४४,७०,४९,२६,४०० मिटर हुनेछ । तर ग्यालिलियोको अपूर्ण प्रयासमा आधारित सूत्रका आधारमा विस्थापनको मात्रा ४,८७,३१,४४,५५,०४,००,००० मिटर हुन जान्छ । यो नतिजा भनेको यानले पार गरेको वास्तविक दूरीभन्दा १५ करोड ४५ लाख २६ हजार चारसय मिटरले कम हो । कुँवरले उक्त अनुसन्धानपत्रमा वास्तविक विस्थापनभन्दा १५ अर्ब ७६ करोड ८० लाख मिटरले फरक हुने अर्को उदाहरण पनि दिएका छन् ।
मिलिमिटरभन्दा साना खण्डको पनि सत्यतथ्य खोज्ने नयाँ पुस्ताले अर्बौँ मिटर फरक हुने नतिजा पनि थाहै नपाईकन एकदम सही छ भन्दै पढ्ने÷पढाउने गर्दै आएका छन् । ‘यो विडम्बना हो, यसले कसैलाई पनि हित गर्दैन,’ कुँवरले गणितीय प्रमाणसहित स्पष्ट पार्दै भन्छन्, ‘सत्रौँ शताब्दी र त्यसपछिका वैज्ञानिकले सर्वप्रथम यस्ता जाँच गरेर मात्र भौतिक विज्ञानलाई अघि बढाउनुपर्ने थियो ।’
परीक्षणहरु कहाँ र कहिले गरिएको थियो ? पछिल्लो अनुसन्धानपत्र प्रकाशन गर्नुभन्दा केही वर्षपूर्व खोजकर्ता कुँवरले सम्बन्धित विषयलाई काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको प्रयोगशालामा पटकपटक दोहोराएर परीक्षण सम्पन्न गरेका थिए । आन्तरिक परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि मात्र बाह्य परीक्षणका शृङ्खला थालिएको थियो ।
काठमाडौँ र ललितपुरका विभिन्न शिक्षण संस्थामा सम्बन्धित परीक्षण तथा प्रवचन सम्पन्न गरिएको थियो । कुँवरले काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स, गोङ्गबुमा विसं २०६९ मङ्सिरदेखि पुसका बीचमा पछिल्लो आखिरी आन्तरिक परीक्षण सम्पन्न गरेका थिए । यस परीक्षणपूर्व विसं २०६७ को चैतमा सम्बन्धित प्रवचन त्रिभुवन विश्वविद्यालयमा दिइएको थियो । भौतिकशास्त्र पुनर्निर्माण अभियानका सदस्य तथा अन्य सहयोगीको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
विसं २०६९ को पुुसमा युनाइटेड स्कलर्स एकेडेमी काठमाडौँमा पहिलोचोटि बाह्यरुपमा परीक्षण सम्पन्न गरिएको थियो । ठाडो सतहका लागि गरिएको उक्त परीक्षणले ७ घन्टाको समय लिएको थियो । परीक्षण कार्यक्रममा विभिन्न भौतिकशास्त्री, शिक्षक तथा विद्यार्थीको बाक्लो सहभागिता रहेको थियो । विसं ०६९ को माघमा दिव्यकान्ति बोर्डिङ स्कुलको चौरमा समतल सतहका लागि पूर्वपरीक्षण सम्पन्न भएपछि अरनिको इन्टरनेसनल एकेडेमी, ललितपुरमा सम्बन्धित परीक्षण सम्पन्न गरिएको थियो । समतल सतहका सन्दर्भमा गरिएको उक्त परीक्षणले ५ घन्टाको समय लिएको थियो । भौतिकशास्त्र पुनर्निर्माण अभियानको सहयोगमा परीक्षण सम्पन्न भएको थियो ।
पछिल्लो चोटिको परीक्षण कुँवरले विसं २०७३ को माघमा गरेका थिए । काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको चितवन शाखामा उक्त परीक्षण गरिएको थियो । ठाडो सतहका सन्दर्भमा गरिएको उक्त परीक्षणले झन्डै दुई हप्तासम्मको समय लिएको थियो ।
परीक्षणपछि कुँवरले दिएको समाधान के हो ?भौतिकशास्त्रमा ‘सुवात’का पाँचवटा सूत्रको पठनपाठन विश्वभरि हुन्छ । अङ्ग्रेजी वर्णहरु एस, यू, भी, ए र टीबाट ‘सुवात’ शब्द बनेको हो । यी वर्णको अर्थ क्रमशः विस्थापन, सुरुको गति, अन्तिम गति, प्रवेग र समय भन्ने हुन्छ । स्कुल र कलेजका पाठ्यपुस्तकमा ‘सुवात’का पाँचवटा समीकरण रहेका छन् । ‘सुवात’का पाँचवटै समीकरणले वास्तविकताभन्दा फरक परिणाम दिएको थाहा पाएपछि कुँवरले ‘सुव्रत’का पाँचवटा नयाँ समीकरण आविष्कार गरेका थिए ।
अङ्ग्रेजी एस, यू, भी, आर र टीको समग्रताबाट ‘सुव्रत’ शब्द बनेको हो । उनले आविष्कार गरेका पाँचवटै समीकरण ‘सुवात’का पाँचवटै समीकरणभन्दा फरक, सही र सरल छन् । यी पाँचवटै समीकरणले विस्थापन र अन्य परिमाणको मात्रा जति हुनुपर्ने हो ठ्याक्कै त्यति दिन्छन् ।
पत्ता लागेका नयाँ समीकरण सामान्य क्याल्कुलेटरको सहाराले सबैले सधैँभरि जाँच्न सकिने कुँवरले बताए ।
विस्थापन निकाल्दा आरम्भिक गति र समयको गुणनफलमा प्रवेग र समयको गुणनफलको आधा मात्रा जोडेर कामचलाउ मान निकाल्ने गरिएको थियो । तर कुँवरले आरम्भिक गति र समयको गुणनफल निकाली सदिश दूरीका पदसङ्ख्या, दूरी परिवर्तनको दर र समयको गुणनफलको आधा मात्रा जोडेमा वास्तविक विस्थापन आउने तथ्य पत्ता लगाएका हुन् ।
'वस्तुमा निरन्तर एकनास बल लगानी भएका बेला फरकफरक समयान्तरालमा पार हुने एक मिटरदेखि चार मिटरसम्मका सदिश दूरीको जम्मा योग १० मिटर हुन्छ । तर विश्वभरिको भौतिक विज्ञानमा आठ मिटर हुन्छ भनी पढ्ने/पढाउने गरिन्छ,' कुँवरले अर्को गणितीय उदाहरण पनि दिएर स्पष्ट पारे ।
विस्थापनको सूत्रको प्रयास थालिएको चारसय ३२ वर्ष बितिसक्दा पनि भौतिकशास्त्रमा यात्राको मात्रा १० मिटर हुँदा आठ मिटर भएको लेखिन्छ । १० मिटर यात्रा भएको हिसाब निकाल्ने कुनै सूत्र बन्न सकेन–कुँवरले बताए । अझै पनि १० लाई आठ भन्दै जाने हो भने त्रुटिपूर्ण र कामचलाउ अध्ययनअध्यापनको इतिहास अझ लम्बिनेछ ।
‘मानवजातिले गर्न सक्ने आविष्कार र खोजका सम्भावना थप कटौती हुनेछन्,’ अनुसन्धानकर्ता कुँवरले चिन्ता व्यक्त गरे । अनुसन्धानपत्रमा कुँवरले प्रस्तुत गरेका गणितीय प्रमाणमध्ये एउटा उदाहरणमा हुनुपर्ने विस्थापनभन्दा १५ अर्ब ७६ करोड ८० लाख मिटर कम हुने उदाहरण पनि समेटिएको छ । यसतर्फ सङ्केत गर्दै उनले भने, ‘भौतिक विज्ञानले यति ठूलो अन्तरसमेत बेवास्ता गर्नु दुःखद पक्ष हो । भौतिकशास्त्रको विश्वसनीयता ठूलो सङ्कटमा छ ।’
भौतिक विज्ञानजस्तो सत्यको बढी नजिक मानिने विज्ञानले मानवपुस्तालाई कस्तो मार्गदर्शन गरेको छ ? सबैले विचार गर्नुपर्ने भएको छ–कुँवरले बुद्धिजीवी र सञ्चारकर्मीले मानवजातिको हितका लागि आ–आफ्ना स्थानबाट समयमै यथोचित भूमिका निर्वाह गर्नुपर्ने बताए ।
यो समस्यामा कुँवरको ध्यान किन गयो ? विसं २०५५ देखि एउटा यन्त्र बनाउने योजना बनाइरहँदा त्यसका लागि आवश्यक शक्ति मापन गर्न विस्थापनको प्रचलित सूत्रले काम नगरेपछि उनी हैरान थिए । त्यसपछि २०६० तिर बागलुङको ग्यालेक्सी इन्जिनियरिङ वर्कसपमा दिउँसो पढाउने र साँझमा यन्त्र बनाउने गर्न थाले । त्यतिबेला कुनै निष्कर्ष निस्किन सकेको थिएन । कुँवरको ०६७ मा प्रकाशित एउटा पुस्तकमा भौतिकशास्त्रमा वर्गसमयको त्रुटिपूर्ण प्रयोग भएको उल्लेख छ ।
जम्माजम्मी सातसय १८ पृष्ठको उक्त पुस्तकका केही खण्डमा उनले एकाई समयमा देखिने दूरी परिवर्तन दरको प्रयोगबारे पनि उल्लेख गरेका छन् । यस विषयमा केही प्रवचन कार्यक्रम पनि सम्पन्न भएका थिए । पछि उनले त्यसकै आधारमा दुर्यान्तर पत्ता लगाएका थिए ।
भौतिकशास्त्रका सयौँ सूत्रमा समस्या भएको थाहा पाएपछि त्यसको वास्तविक कारण पहिल्याउनु उनका लागि चुनौती हुन गएको थियो । कारण पहिलिएपछि समाधान पहिल्याउन फेरि चुनौती थपिन पुगेको थियो । समयक्रमसँगै वास्तविक समाधान समेटिएका अनुसन्धानपत्र पनि सम्पन्न गर्न उनी सफल भएका थिए । सरल र अकाट्य समाधानको निष्कर्षमा पुगी त्यसलाई परीक्षण गरे । ‘तर जोकोहीले अध्ययन गर्न मिल्ने गरी अनुसन्धानपत्र प्रकाशित गर्नुपर्ने भयो । त्यसो नगरेसम्म के गरेको हो भन्ने कुरा सबैलाई थाहा नहुने भयो,’ कुँवरले भने, ‘त्यसैले थप जानकारी मिलोस् भन्ने अभिप्रायले ‘सुवातदेखि सुव्रतसम्म’ र ‘सुव्रतका केही प्रभावहरु’ शीर्षकका दुईवटा अनुसन्धानपत्र प्रकाशित गरेँ ।’