
काठमाडौं–नेपाली काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ । जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले मगलवार यहाँ आयोजना गरेको कार्यक्रममा स्व कोइराला राष्ट्रप्रेमी नेता भएको बताइएको हो ।
कार्यक्रममा पूर्वमन्त्री एवं काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले विपी कोइराला राष्ट्रवादी व्यक्तित्व भएको बताए। “मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाबाट देशले पाठ सिक्नुपर्छ”, उनले भने। पूर्वरक्षामन्त्री प्रधानले सरकारको कार्यशैलीप्रति नेपाली जनतामा निराशा छाएको बताए। दुईतिहाइको सरकारले जनताको इच्छा र चाहनाबमोजिम काम गर्न नसकेको उल्लेख गर्दै उहाँले नेपाली काङ्ग्रेसभित्र जनतामा भन्दा पनि नेतामा जागरण अभियान आवश्यक रहेको बताए।
काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जिल्ला, प्रदेश र वडामा पार्टीको सङ्गठनलाई ऊर्जाशील बनाउन जागरण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। “कार्यकर्ता नेतासँग भन्दा पनि नेता कार्यकर्तासम्म पुग्ने वातावरण निर्माण नगरेसम्म काङ्ग्रेस बलियो हुन सक्दैन”, उनले भने।
पार्टीको तर्फबाट जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि दयाराम पाण्डेले वडा र गाउँमा काङ्ग्रेस बलियो नभइकन केन्द्रमा बलियो हुन नसक्ने बताए। काङ्ग्रेसको सिङ्गो सङ्गठनलाई बलियो बनाउन जागरण अभियानले सहयोग पुग्ने उनको भनाइ थियो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले विपी कोइराला महान् राजनीतिक व्यक्तित्व भएकाले विपी कोइरालालाई सिङ्गो देशले सम्झनुपर्ने बताए। नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) का सभापति ख्यामराज तिवारी, काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ का सचिव गणेश रिजाललगायतले विपी कोइरालालाई एक दिनमात्र सम्झना गरेर नपुग्ने बताए।