
काठमाडौं, १८ चैत — बंगलादेशको राजधानी ढाकामा बिहीवार आतंकवादीहरूको खोजीमा प्रहरीले छापा मार्दा एक परिवारले विस्फोटमा आफैंलाई उडाए । विस्फोटमा आठजनाको मृत्यु भएको बताइएको छ ।

मारिएका व्यक्तिहरूको सम्बन्ध ढाकामा केही महिनाअघि भएको आतंकवादी आक्रमणसँग जोडिएको छ ।
उक्त आक्रमणमा २२ जनाको मृत्यु भएको थियो । त्यसमा विदेशी पर्यटकको संख्या बढी थियो । आईएसले घटनाको जिम्मेवारी लिएको थियो ।
प्रहरीले गोप्य सूचना पाएपछि घरमा छापा मारेको थियो ।
आतंकवादीहरूलाई खोज्ने क्रममा अपरेसन हिट ब्याक चलाइएको थियो । अपरेसनका क्रममा प्रहरीले एउटा घरमा रेड मार्दा त्यहाँका मानिसले आत्मघाती बम विस्फोट गरे ।
मर्नेहरूमा महिला र बालबच्चा पनि परेका छन् । विस्फोट निकै चर्को हुनाले लाश समेत चिन्न मुश्किल परेको थियो ।
प्रहरीले बताएअनुसार सुरक्षाकर्मीहरूले यो इलाकालाई दुई दिनदेखि घेरेका थिए । यही मौकामा ड्रोनमार्फत जानकारीहरू संकलन गरिएका थिए । आतंकवादीहरूलाई आत्मसमर्पण गर्न भनिएपनि उनीहरूले त्यसो गर्न मानेनन् ।
मारिएका आरोपितहरूका एक छिमेकीले भने, ‘घरमा भएका मान्छेले भाग्ने कुनै पनि बाटो बाँकी छैन भन्ने थाहा पाएपछि विस्फोट गरेर सामूहिक आत्महत्या गरे । यहाँ दुई जोडी पाँच बालबच्चासँग बस्थे । सात वर्षअघि उनीहरूले घर भाडामा लिएका थिए ।
दुवै जोडीको गतिविधि शंकास्पद रहेको छिमेकी बताउँछन् । ‘उनीहरू सधैं घरभित्रै बस्थे । बच्चालाई पनि बाहिरका मानिससँग घुलमिल गर्न दिँदैनथिए ।’
दैनिक भास्करबाट