२८ असार २०८३, आइतबार

लोक सेवामा ‘स्वीट्जरल्याण्ड मोडल’ लागू गर्न सांसदमा प्रस्ताव

लोक सेवामा ‘स्वीट्जरल्याण्ड मोडल’ लागू गर्न सांसदमा प्रस्ताव

काठमाडौं– मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा नेपालमा कर्मचारी भर्ना गर्दा स्वीट्जरल्याण्डको मोडल लागू गर्न एक सांसदले प्रस्ताव गरेका छन् । 

बुधवार प्रतिनिधि सभा बैठकमा लोक सेवा विधेयकमाथि विरोधको सूचना राख्दै नेमकिपाका प्रेम सुवालले संघ, प्रदेश र स्थानीय तहमा स्वायत्त आयोग बनाउनु जरुरी रहेको र यसका लागि आवश्यक परे संविधान संशोधन समेत गर्नुपर्ने बताएका हुन् । 

‘संघीय निजामती सेवामा देशभरका नागरिक, प्रदेशमा प्रदेशभरिका नागरिक र स्थानीय तहमा स्थानीय तहका नागरिक भर्ना हुने व्यवस्था गर्न जरुरी छ, तत् तत् स्थानमा जनशक्ति उत्पादन नभएमा संघबाट प्रदेश र प्रदेशबाट स्थानीय तहमा जानसक्ने व्यवस्था गर्नुपर्छ,’ संसद्मा विरोधको सूचना पेश गर्दै सुवालले भने, ‘स्वीट्जरल्याण्डमा अध्ययन रोजगार, उद्योग व्यापारका लागि एउटा क्यान्टोनबाट अर्कोमा गएपनि काम सकिएपछि आफ्नै क्यान्टोनमा जानुपर्ने व्यवस्था छ । नेपालमा लोक सेवाको दरखास्त आह्वान गर्दा यही ढंगले आह्वान गर्नु जरुरी छ ।’

सांसद सुवालले तीनवटै तहको लोकसेवा आयोगलाई स्वायत्त बनाउन संविधान संशोधन गर्न परे त्यो पनि गर्नुपर्ने बताए । उनले नेपालमा कर्मचारी नयाँ वर्गको रूपमा विकास भइरहेको टिप्पणी गरे । 

‘कर्मचारीको कर्तव्य, शासक होइन जनताको सेवक हो, भ्रष्टाचार र कमिसनमुक्त समाज बनाउने कर्तव्य कर्मचारीको हो,’ सुवालले भने, ‘कर्मचारी नयाँ वर्गको रूपमा विकास भइरहेको छ । नेपालमा एउटा काम गरेर खाने, एउटा काम गर्नेलाई जोताएर खाने वर्ग थियो । कर्मचारी एउटा वर्गको रूपमा देखा परेको छ । माथिल्लो तहका कर्मचारी सभ्रान्त वर्गको रूपमा उदय हुँदैछ,’ उनले भने । 

प्रधानमन्त्रीको तर्फबाट कानून मन्त्री भानुभक्त ढकालले विरोधको सूचनामाथि जवाफ दिँदै कर्मचारी प्रशासनलाई पारदर्शी बनाउने कुरा विरोधभन्दा पनि सुझावको रूपमा लिएको बताए ।

बुधवार नै विधेयक संसद्मा टेबल भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्