सोल, १८ चैत- दक्षिण कोरियाकी अपदस्त राष्ट्रपति पार्क गेउन हेलाई शुक्रबार बिहानै प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको महाअभियोग लागेकी पार्कलाई अदालतले दोषी ठहर गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
सोल केन्द्रीय जिल्ला अदालतका एक जना न्यायाधीशले भने, ‘उहाँलाई लगाइएको महाअभियोग पुष्टि भएको छ, उहाँलाई अब क्षमा दिन सक्ने अवस्था रहेन ।’
अपदस्त राष्ट्रपति पार्कको विरुद्धमा लगाइएको मुद्दामा बिहीबार सुनुवाइ भएको थियो । उहाँको मुद्दाका विषयमा नौ घन्टासम्म भएको सुनुवाइ दक्षिण कोरियाको न्यायिक क्षेत्रमा अहिलेसम्मकै लामो सुनुवाइ भएको बताइएको छ ।
पार्क राति अबेरसम्म न्यायाधीवक्ताको कार्यालयमा अदालतको फैसलाको प्रतिक्षामा रहनुभएको थियो । सुनुवाइपछि अदालतले पार्क दोषी भएको फैसला सुनाउँदै उहाँलाई पक्राउ गर्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि पार्कलाई प्रहरीले नियन्त्रणमा लिई सोलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखिएको जनाइएको छ । सो कारागार न्यायाधीवक्ताको कार्यालयदेखि १५ किलोमिटर टाढा रहेको छ ।
६५ वर्षीया पार्कलाई कडा सुरक्षाका साथ कारागारमा राखिएको छ । दक्षिण कोरियाको राष्ट्रपतिबाट नाटकीय तरिकाले बहिरिने उनी एक मात्र व्यक्ति हन् ।
उनले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको भन्दै दक्षिण कोरियामा लामो समय उनका विरुद्धमा प्रदर्शनसहितको आन्दोलन भएको थियो ।
उनलाई केही हप्ता अगाडि मात्रै अदालतले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको ठहरसहित पदमुक्त गराएको थियो । यसरी महाअभियोग लागेर पदमुक्त हुने उनी दक्षिण कोरियाको पहिलो व्यक्ति पनि हुन् ।
संवैधानिक अदालतले पदमुक्त भएको फैसला गरेको दुई दिनमा उनले राष्ट्रपति कार्यालय खाली गरेकी थिइन् ।