काठमाडौं, १८ चैत – चलचित्र प्रेमगीतको ‘म यस्तो गीत गाउँछु’ गीतको कोरियोग्राफी गरेपछि कोरियोग्राफर रेनाशा राईको चर्चा ह्वात्तै बढ्यो । उक्त गीतले उनलाई उत्कृष्ट नृत्य निर्देशकको अवार्ड पनि दिलायो ।
आफूले काम गरेका सबै चलचित्रका भिडियोले राम्रो प्रतिक्रिया पाउनुमा उनको मेहनत पक्कै पनि दाबेदार छ ।
रेनाशा मेहनती त छँदैछिन्, त्यसमाथि सृजनशील पनि छिन् । त्यसैले त उनले कोरियोग्राफी गरेको अर्को गीतले उनलाई फेरि चर्चामा ल्याएको छ ।
विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा गएर चलचित्र ‘ए मेरो हजुर २’ को शूटिङ गर्न पक्कै पनि सहज थिएन । तर अभिनेत्री तथा निर्देशक झरना थापाले फिल्मको गीतमा तिलिचो समेत अटाउने योजना बनाएकी थिइन् ।
त्यसपछि सबै हौसिए । कोरियोग्राफीको जिम्मा पाएकी रेनाशा पनि हौसिइन् ।
तर त्यति अग्लो ठाउँमा काम गर्नु आफैंमा एक जोखिम थियो । ‘जोखिम मात्र थिएन । जति हिँडे पनि पुग्दै नपुगेजस्तो लागेको थियो,’ रेनाशा योजना बनाएर तिलिचो जाँदाको अनुभव सुनाउँछिन्, ‘त्यति माथि पुगेर गीतको छायांकन गर्नु चुनौती मात्र थिएन, जोखिमपूर्ण पनि थियो ।’
तिलिचोमै पुगेर गीतको छायांकन गर्ने योजना कसरी बन्यो त ? उनी भन्छिन्, ‘झरना (थापा) जीले लोकेसनका हिसाबले अन्य ठाउँमा धेरै फिल्म शूटिङ भइसकेकोले तिलिचो छान्नुभएको थियो । शुरुमा असहज लागेपनि इन्टरनेटमा तस्वीर हेरेकै भरमा जानका लागि तयार भयौं ।’
दुई दिनसम्म हिँडेर तिलिचो ताल पुग्दा आफ्नो टाउको अत्यधिक दुखेको रेनाशा बताउँछिन् । ‘हामी सबै बिरामी परेका थियौं । ओहो ! टाउको यतिसम्म पनि दुख्दोरैछ भन्ने कुरा मैले त्यतिबेला नै थाहा पाएँ,’ उनी लामो हाँसो हाँस्दै सुनाउँछिन्, ‘अहिले सम्झँदा भने रमाइलो लाग्छ । पहिलोपटक तिलिचो ताल पुग्दा स्वर्गको एक टुक्रा धर्तीमा खसेजस्तो लागेको थियो ।’
हुनपनि तत्कालीन राजा महेन्द्रले तिलिचोलाई स्वर्गको टुक्रा खसेको भनेको मनाङेहरू स्मरण गर्छन् । शुरुमा हिमाल देख्दा रमाइलो लागेपनि हिँडिराख्दा भने हिमालैहिमालले दिक्क पनि पारेको बताउँछिन् उनी । बेसक्याम्पबाट धेरै हिँड्न परेपछि धेरै प्राविधिक सामग्री भने फिल्म युनिटले लैजान सकेको थिएन । त्यो चिसो तालमा गएर शूटिङ गर्नु चुनौती मात्र थिएन ।
प्रेमगीतका लागि कस्तो पोशाक लगाउने भन्ने पनि थियो । ‘त्यति चिसो ठाउँमा खुल्ला कपडामा नचाउनुपर्ने थियो । कल्पना गर्नुस्, कसरी गरियो होला,’ उनी भन्छिन्, ‘धन्न हामी थला पर्ने गरी बिरामी भएनौं, नत्र कस्तो हुँदो हो त्यो समय । हेलिकोप्टर समेत आउने स्थिति थिएन ।’
तिलिचोले लोभ्याएको पनि थियो, अत्याएको पनि थियो उनीहरूलाई । कसैले बान्ता गर्ने, कोही डायरियापीडित, कसैको टाउको दुख्ने ।
‘त्यस्तो अवस्थामा पनि पूरै टिमले अत्यन्तै मिहिनेतका साथ काम गरेका थियौं,’ उनी खुशी व्यक्त गर्दै भन्छिन्, ‘अहिले गीत रातारात हिट भएको छ । हाम्रो कामले मूल्यांकन पाएको छ ।’
मनाङ सदरमुकाम चामेबाट दुई दिन लगाएर तिलिचो पुगेकी रेनाशा अब फेरि त्यस्तै अवसर पाए जान्छिन् त ? ‘हाहा । अब त म जाँदिनँ । शायद टिमका कुनै पनि सदस्य जानुहुन्न होला । अहिले सम्झँदा पनि डर लाग्छ,’ रेनाशा हाँस्दै भन्छिन् । रेनाशा राई
‘उसिनेको आलु, बन्दा र चाउचाउको भरमा हामीले त्यहाँ समय बिताउनुपरेको थियो,’ उनी थप्छिन्, ‘घर फर्कने बेलामा खुबै रमाइलो लाग्यो । एक किसिमको दुःख सकियो भन्ने लाग्यो ।’
कठिन यात्रा गरेर कलात्मक र प्रशंसनीय काम गरेर फर्केको ‘ए मेरो हजुर २’ को पूरै टिम अहिले भने गीत चर्चित भएसँगै फुरुंग छ । सम्पूर्ण टिमसहित रेनाशाको कामको पनि चर्चा भएको छ ।
आफूले छानेर मात्र चलचित्रमा अभिनय गर्ने बताउने रेनाशाले आफूले गरेको कामलाई सकेसम्म उत्कृष्ट बनाउन खोज्छिन् । चलचित्र ‘प्रेमगीत २’ र ‘कृ’ मा समेत दर्शकले रेनाशाको कोरियोग्राफी देख्न पाउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘राम्रा चलचित्रमा मात्र काम गर्छु । होलसेलमा काम गर्दिनँ । समय दिएर थोरै कामलाई नै राम्रो बनाउन चाहन्छु ।’