काठमाडौं, १८ चैत - पूर्वाञ्चल क्षेत्रबाट साहित्य सृजना गरेर राष्ट्रिय स्तरमा सहयोग पुर्याएका दुई स्रष्टालाई सम्मान गर्ने उद्देश्यले दमकमा ‘प्रतिभा सम्मान पुरस्कार कोष‘को स्थापना भएको छ ।

कोषको समितिमा साहित्यकार युवराज रिजाल अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा कल्पना पोखरेल, सचिवमा गिरीराज भट्टराई, सह–सचिवमा युवराज ढकाल र कोषाध्यक्षमा अशोक थापा रहेका छन् । त्यस्तै चोमु पासाङ शेर्पा, प्रज्वल बाँस्तोला, कुसुम तामाङ सदस्यमा चयन भएका छन् ।
‘प्रतिभा सम्मान पुरस्कार कोष‘ मार्फत हरेक वर्ष दुई जना स्रष्टालाई सम्मान गरिने कोषका अध्यक्ष गिरीराज भट्टराईले बताए । पुरस्कारको राशी ५० हजार रुपैयाँ सहित ताम्रपत्र र दोसल्लासहितको सम्मान रहने भट्टराईले जानकारी दिए ।
यस वर्ष भने कोषले साहित्यकार युवराज नयाँघरे र कवि धनकुटे कान्छालाई सम्मान गर्न लागेको छ ।