
चितवन – डेंगु संक्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने सुझाव दिइएको छ ।
चितवनको पुष्पाञ्जलि अस्पतालले शनिवार आयोजना गरेको ‘डेंगु नियन्त्रणमा डेंगु संक्रमित बिरामीको भूमिका’ विषयक सचेतना कार्यक्रमका सहभागीले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् ।
पत्रकार राजु चौधरीले आफू ४ दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेंगुलाई हाउगुजी बनाउन नहुने बताए । निको भएका बिरामीको तर्फबाट तयार गरिएको पर्चा वाचन गर्दै उनले डेंगु ज्वरोको नियन्त्रण चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्यका निकाय, स्थानीय सरकार, नागरिक समाज र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै गर्न सकिने बताए ।
५ दिनको अस्पतालको बसाईपछि घर फर्केकी अजिता अधिकारीले चिकित्सकको उपयुक्त परामर्शले आधा रोग हट्ने भन्दै आफूले आफूलाई बलियो बनाएमा रोग आफैं निको भएर जाने बताइन् । रोगको छुट्टै औषधि नहुने भएकाले आफूले आफूलाई बलियो बनाउनुपर्ने भन्दै अधिकारीले भनिन्, ‘यो ज्वरोले उठ्नै सक्दिनँ कि के हो भनेर चिन्ता नलिनुस्, मलाई केही हुँदैन भन्नुस् आफैं ठीक हुन्छ ।’
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रबाट गरिएको प्रयास उदाहरणीय रहेकाले घरघरबाट रोग नियन्त्रणका लागि अभियान थाल्न आह्वान गरिन् । कुनै एक निकायको प्रयासले रोग नियन्त्रण सम्भव नभएकाले उनले सबैले हातेमालो गरेर रोग नियन्त्रण गर्नुपर्ने बताइन् ।
पुष्पाञ्जलि अस्पतालका प्रबन्ध निर्देशक वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले डेंगु के हो, यसबाट कसरी बच्न सकिन्छ र आम नागरिकले के गर्नुपर्छ भन्ने विषयमा जानकारी गराएका थिए । अस्पतालमा मात्र साउन १६ गतेयता ४०५ ज्वरोका बिरामी उपचार गरिएकामा तीमध्ये २२३ जनामा डेंगु देखिएको र १०५ जनालाई अस्पतालमा नै भर्ना गरेर उपचार गरेको अधिकारीले बताए ।
यसबाहेक बाहिर अस्पतालमा डेंगु प्रमाणित भएपछि अस्पतालमा भर्ना भएर ५५ जनाले सेवा लिएका उनले जानकारी दिए । अस्पताल सञ्चालक समितिका अध्यक्ष चेतनाथ वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी, निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारी, गोपाल पौडेल लगायतले बोलेका थिए ।
हालसम्म जिल्लामा १ हजार ७ सय जनालाई डेंगु संक्रमण भएको छ । यो रोगको संक्रमण बढ्दै गएपछि निको भएका बिरामीलाई भेला गरेर सचेतना कार्यक्रम आयोजना गरिएको हो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार निको भएका बिरामीले डा. अधिकारीको परामर्शमा तयार गरेको डेंगु रोग र यसबाट बच्ने उपायका विषयमा तयार गरिएको पर्चा अस्पतालले छपाइ गरी उनीहरूमार्फत गाउँगाउँमा पुर्याउने काम गरेको छ ।