३१ असार २०८३, बुधबार

महाकाली कोरिडोरको ईआईए तयार

महाकाली कोरिडोरको ईआईए तयार
प्रतिकात्मक तस्वीर

कञ्चनपुर – जिल्लाको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मको महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार भएको छ । 

सडक विभागअन्तर्गतको भौतिक सामाजिक तथा वातावरणीय शाखाले परामर्शदाता कम्पनीमार्फत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको हो ।

डीपीआर सडक निर्माणका क्रममा हुने जंगलको क्षति, खेतीयोग्य जमिनको क्षति, घरपरिवार विस्थापित लगायत वातावरणीय प्रभावका कुरा आकलन गरेको टोली प्रमुख रेशम बाँनियाले बताए । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार महाकाली कोरिडर निर्माण गर्दा बैतडीमा करीब ६८ हेक्टर खेतीयोग्य जमिन नष्ट हुने भएको छ ।

कोरिडोरले पञ्चेश्वर, शिवनाथ र दोगडाकेदार गाउँपालिका तथा दशरथचन्द नगरपालिकामा प्रभाव पार्ने जनाइएकोे छ । ४ वटै स्थानीय तहमा करीब ३५ हेक्टर जंगल नष्ट हुने बताइएको छ । कोरिडोर निर्माणका क्रममा शिवनाथमा २१, दशरथचन्द नगरपालिकामा २७ र दोगडाकेदार गाउँपालिकामा ५७ घरपरिवार विस्थापित हुने देखिएको छ । 

पञ्चेश्वर गाउँपालिकामा विस्थापित हुने परिवार सङ्ख्या संकलनको काम भइरहेको छ । कोरिडोरले विस्थापित हुने घरपरिवारलाई क्षतिपूर्तिबापत १८ हजारदेखि ४० लाखसम्म मुआब्जा दिन सकिने जनाइएको छ । 
११ मिटर अर्थात् २ लेन चौडाइ रहने सडक निर्माणका क्रममा झण्डै ५ हजार ठूला रूख र ७ हजार बुट्यान कटान गर्नुपर्ने देखिएको छ । 

कोरिडोरअन्तर्गत बैतडीमा ११४ किलोमिटर सडक निर्माण हुनेछ । कञ्चनपुरमा ११, डडेल्धुरामा ५९ र दार्चुलामा ४० किलोमिटर सडक निर्माण हुने बताइएको छ । 

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएसँगै कोरिडोर निर्माण कार्यले तीव्रता पाउने जनाइएको छ । महाकाली करिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव–झुलाघाट–दार्चुलासम्मको दूरी २९१ किलोमिटर छ ।

salt training

कमेन्ट गर्नुहोस्