
काठमाडौं–प्रमुख प्रतिपक्षी दलका सांसदहरूले बाँकेको खजुरामा पार्टी कार्यक्रममाथि नेकपाले योजनाबद्ध आक्रमण गरेको आरोप लगाएका छन् ।
भ्रष्टाचार र सरकारको असफलता लुकाउन कांग्रेसको जागरण कार्यक्रममाथि आक्रमण गरिएको उनीहरूको आरोप छ ।
आइतवार प्रतितिधि सभा बैठक अवरुद्ध गर्नुअघि गृहमन्त्री रामबहादुर बादलसँग प्रश्न गर्ने क्रममा प्रतिपक्षी सांसदहरूले अहिले नेकपाका कार्यकर्ता पञ्चायतका मण्डलेजस्तै प्रयोग भएको आरोप लगाए ।
‘दुईतिहाइको सरकार असफल भएपछि अहिले अरिंगाल प्रयोग भएका छन्, पञ्चायतका मण्डले र दुईतिहाइका अरिंगाल एकै हुन् कि फरक ?’ कांग्रेस सांसद रामबहादुर विष्टले प्रश्न गरे ।
कांग्रेसकै पार्वती डिसी चौधरीले सत्ताका अरिंगालहरू प्रतिपक्षमा जाइलागेको टिप्पणी गरिन् ।
‘असफल भएको सरकार निभ्ने बेलाको बत्तीजस्तै धिपधिप गरिरहेको छ,’ देवप्रकाश तिमिल्सिनाले भने ।
बालकृष्ण खाणले सत्तापक्षीय पार्टीका नेता कार्यकर्ता अरिंगाल जसरी कांग्रेसको कार्यक्रममा जाइलागेको आरोप लगाए ।
‘अरिंगाल प्रयोगका लागि सत्तापक्षका शीर्ष नेताहरूले आह्वान गर्नुभएको थियो, सत्तापक्षीय कार्यकर्ता कसरी अरिंगाल बन्छन् भन्ने बाँकेको खजुरामा देखियो,’ खाणले भने ।