
काठमाडौं, १८ चैत — जीवन बीमा समितिले जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ । २०४९ सालको बीमा ऐनमा कायम गरिएको चुक्ता पूँजीको दायरालाई चार गुणाले बढाइएको जीवन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।
उनका अनुसार जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी दुई अर्ब र निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी चाहिँ एक अर्ब बनाउने पर्ने निर्णय समितिले गरेको हो । हाल नेपालमा नौवटा जीवन बीमा कम्पनी र १७ वटा निर्जीवन बीमा कम्पनीहरू रहेका छन् ।
२०७५ सालको असार मसान्तसम्ममा अनिवार्य रूपमा समितिले तोकेको चुक्ता पूँजी बढाउनुपर्ने गरी निर्णय गरिएको हो । ‘विगत लामो समयदेखि यो विषयमा विवाद रहेको थियो,’ चापागाईंले भने, ‘अन्ततः हामीले यो विषयलाई टुंग्याएका छौं ।’
पहिले ऐन बनाउँदा ऐनमै चुक्ता पूँजी तोकिएको भएपनि अहिले त्यो विषय हटाइएको उनले बताए । ‘पहिले कमजोरीस्वरूप त्यहाँ सीमा तोकिएको थियो, यो ऐनमा उल्लेख गर्ने विषय थिएन,’ उनले भने, ‘बन्दै गरेको नयाँ ऐनमा चाहिँ हामीले बीमा समितिले तोकेअनुसार चुक्ता पूँजी बनाउनुपर्ने व्यवस्था गरिएको छ ।’
उनले बैंक तथा अरू वित्तीय संस्थाले केन्द्रीय बैंकले तोकेअनुसार बनाउनुपर्ने प्रचलन रहेबमोजिम बीमाहरूले चाहिँ बीमा समितिले तोकेअनुसार बनाउनुपर्ने निर्णय गरिएको हो ।
उनका अनुसार बीमा कम्पनीहरूले बोनस तथा हकप्रदमार्फत चुक्ता पूँजी तोक्नेछन् । ‘बोनस र राइट मार्फत नै चुक्ता पूँजी बढाउनुपर्ने बाटो हुन्छ,’ उनले भने, ‘चुक्ता पूँजी बढेसँगै सर्वसाधारणको पैसाको जोखिम कम हुनेछ भने कम्पनीहरूको जोखिम मोल्नसक्ने क्षमता पनि बढ्नेछ ।’
उनका अनुसार नयाँ बन्न थालेको ऐन अहिले अर्थ मन्त्रालयबाट कानून मन्त्रालयमा गएको छ । त्यहाँबाट अर्थ मन्त्रालयमा फिर्ता भएपनि ऐन मन्त्रिपरिषदमा जानेछ । त्यहाँबाट सदनमा विधेयक प्रस्तुत गरिनेछ । अहिले बीमा कम्पनीहरूको चुक्ता पूँजी १६ करोड देखि सबा दुई अर्बसम्म छ ।