काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ओसामा बिन लादेनका छोरा हमजा मारिएको शनिवार पुष्टि गरेका छन् ।
हमजा मारिएको घोषणा गर्दै अमेरिकी राष्ट्रपतिले अमेरिकी सेनाको प्रतिआतंकवादी कारवाहीमा अफगानिस्तान/पाकिस्तान क्षेत्रमा उनको मृत्यु भएको बताए । हमजा ठ्याक्कै कहाँ मारिएको भनी निश्चित जानकारी दिइएको छैन र कहिले मारिएको पनि भनिएको छैन ।
सूत्रहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जुलाई महिनामा हमजा मारिएको खबर प्रकाशित गरेको थियो । खबरअनुसार, हमजा सन् २०१७ देखि २०१९ बीच गरिएको कारवाहीमा मारिएका हुन् ।
ओसामाका जीवित तीन पत्नीमध्ये एक खैरियाह साबरका छोरा हमजा विगत केही वर्षमा अलकायदामा तीव्रताका साथ अघि बढिरहेका थिए । अलकायदामा उनको कद निकै बढिरहेको थियो । उनले बहालवाला प्रमुख अल–जवाहिरीको ठाउँ लिने विश्लेषकहरूको मत थियो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले हमजालाई प्रतिबन्धित आतंकवादीको सूचीमा राखेको थियो । यसै वर्षको मार्च महिनामा साउदी अरबले उनको नागरिकता रद्द गरिदिएको थियो ।
अफगानिस्तान–पाकिस्तान क्षेत्रमा हमजाको मृत्यु भएको हो भने त्यो तालिबानको प्रभावक्षेत्र हो । केही दिनअघि तालिबान र अमेरिकाको शान्तिवार्ता भंग भएको थियो ।
उक्त वार्तामा अलकायदाका विषयमा सम्झौता भएको थियो । सम्झौताअनुसार, तालिबानले आफ्नो क्षेत्र अलकायदालाई प्रयोग गर्न नदिने भएको थियो ।
एजेन्सी