काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प सेप्टेम्बर २२ मा टेक्सासको ह्युस्टनमा हुने हाउडी मोदी कार्यक्रममा प्रमुख अतिथि बन्ने भएका छन् ।
उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको भ्रमणमा भारतीय समुदायलाई सम्बोधन गर्ने भएका छन् । त्यसमा ५० हजारभन्दा बढी मानिसले भाग लिने भएका छन् ।
ट्रम्प र मोदीले संयुक्त रूपमा ठूलो कार्यक्रमलाई सम्बोधन पहिलोपटक गर्ने भएका छन् ।
सन् २०२० मा अमेरिकामा राष्ट्रपति चुनाव हुने भएको छ । अमेरिकामा लगभग ५० लाख भारतीय मूलका मानिस बस्छन् र उनीहरूको मत निर्णायक हुन सक्ने भएकाले ट्रम्पले मोदीसँगको कार्यक्रममा देखिन मन गरेको विश्लेषकहरूले बताएका छन् ।
त्यसो त हाउडी मोदी कार्यक्रममा मोदीसँग रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसद देखिनेछन् ।
सन् २०१६ को चुनावमा पनि ट्रम्पले अबकी बार ट्रम्प सरकार लगायतका नारा दिएर भारतीय मूलका मतदातालाई आकर्षित गर्ने कोशिश गरेका थिए ।
टेक्सास अमेरिकाको दोस्रो सबभन्दा ठूलो राज्य हो । त्यहाँ ४ प्रतिशत मतदाता एसियाली मूलका छन् र अधिकांश संख्या भारतीय समुदायका छन् ।
विगतका केही चुनावमा एसियाली भारतीय मतदाताहरूले डेमोक्रेट्सलाई पत्याइरहेको देखिन्छ । रिपब्लिकन पार्टीले उनीहरूलाई लोभ्याउने हरसम्भव प्रयास गरिरहेको हुन्छ ।
एजेन्सी