
काठमाडौं – साउदी अरबको सरकारी तेल कम्पनी अरामकोमा शनिवार भएको ड्रोन आक्रमणले संसार नै आश्चर्यमा परेको छ ।
अमेरिकाले यस आक्रमणमा इरान जिम्मेवार रहेको बताएको छ तर सधैं जसो इरानले आरोपको खण्डन गरेको छ । यमनमा सक्रिय हूती संगठनले घटनाको जिम्मेवारी लिएको छ ।
त्यसो त इरानसँग यस्तो आक्रमण गर्ने आधुनिक प्रविधि छ । इरान र साउदी अरबको दुश्मनीले पश्चिम एसिया अनिश्चितताको भुमरीमा छ ।
अनि साउदी तेल कम्पनी साउदी अरामकोमाथिको यो दोस्रो आक्रमण हो । अगस्ट १७ मा २० वटा ड्रोनले साउदी अरबको प्राकृतिक ग्यास भण्डारलाई निशाना बनाइएको थियो ।
इरानले यसअघि अमेरिकी ड्रोनलाई आकाशबाट खसाएको थियो । त्यसपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने मन बनाएका थिए तर कारवाहीभन्दा केही मिनटअघि फैसला बदलेका थिए ।
अमेरिकी विश्लेषकहरूले साउदी अरामकोमाथि गरिएको आक्रमण निकै सुनियोजित रहेको बताएका छन् । यससँगै एउटा प्रश्न पनि उठेको छ– संसारभरि तेल आपूर्ति गर्ने साउदीसँग पैसाको अभाव छैन भने उसविरुद्ध लगातार आक्रमण किन भइरहेको छ ?
साउदी अरबको रक्षा बजेट इरानको तुलनामा निकै धेरै छ र उसले पश्चिमी देशहरूबाट हतियार पनि आयात गर्छ । तर यमनमा हूती विद्रोहीहरूलाई तह लगाउन नसक्दा साउदीले आफ्नो पैसा सही तरिकाले खर्च गर्न नसकेको देखिन्छ । साउदीको सेना व्यवस्थित पनि छैन अनि सैनिकहरूबीच तालमेल पनि छैन । समुद्रमा इरान अहिले साउदी अरबभन्दा बढी शक्तिशाली छ ।
ग्लोबल फायरपावरले साउदी अरब र इरानको सैन्य क्षमताको तुलना यसरी गरेको छ :
साउदी अरबसँग दुई लाख ३१ हजार सैनिक छन् तर इरानको तुलनामा यो आधा मात्र हो । इरानसँग पाँच लाख ३४ हजार सैनिक छन् । पश्चिम एसियामा यो सबभन्दा ठूलो फौज हो । इरानमा १८ वर्षभन्दा बढी उमेरका पुरुषले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्छ ।
स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार, साउदी अरब सन् २०१७ मा सैन्य खर्चका हिसाबमा तेस्रो स्थानमा थियो । साउदीको रक्षा बजेट ६९.४ अर्ब डलर थियो । इरानको रक्षा बजेट सन् २०१७ मा भने १४.५ अर्ब डलर थियो ।
साउदी अरबको सेनासँग ११ सय ४२ ट्यांक छन् । रक्षामा यति धेरै खर्च गरे पनि साउदीसँग हतियार उद्योग छैन । भारतपछि साउदी अरब संसारको सबभन्दा ठूलो हतियार आयात गर्ने देश हो र अमेरिकाले साउदीलाई सबभन्दा धेरै हतियार आपूर्ति गर्छ ।
सन् २०१६ मा अमेरिकासँग साउदीले अबराम ट्यांक डील गरेको थियो । तर ती ट्यांकहरूलाई हूती लडाकूहरूले इरानमा बनेको रकेटको सहायताले नष्ट गरिदिएका थिए ।
इरानसँग १६ सय ५० ट्यांक छन् । उससँग स्ट्राइकर नामक युद्धट्यांक छ ।
साउदीसँग ३२२ रकेट प्रोजेक्टर छन् भने इरानसँग १५ सय ३३ रकेट प्रोजेक्टर छन् । न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टअनुसार, इरानले मरुभूमिमा गोप्य रूपमा आधुनिक मिसाइल बनाइरहेको छ र ती क्षेप्यास्त्रले लामो दूरीमा मार हान्न सक्छन् ।
साउदीको जलसेना कमजोर छ । उससँग म्मिा ५५ वटा समुद्री जहाज छ । इरानसँग भने ३९८ मा समुद्री जहाज छ ।
इरानको रेभोल्युसनरी गार्ड्सका जलसेना अध्यक्ष अलीरेजा तांगसिरीले इरानको नियन्त्रण पर्सियन खाडीभरि रहेको बताए ।
इरानले ससाना स्पीडबोटले घातक आक्रमण गर्न सक्छ । साउदी अरबको जलसेनासँग पनडुब्बी छैन भने इरानसँग ३३ वटा पनडुब्बी छ । तिनमा ५३३ मिलिमिटरका दुईवटा टोर्पीडो लैजाने क्षमता छ ।
एजेन्सी