काठमाडौं – भारतको राजस्थानमा एक महिला र पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि त्यहाँको पञ्चायतले अनौठो सजाय दिएको छ ।
दुवैजनाको कपाल काटियो अनि पुरुषलाई सबैका अगाडि पिसाब पिउन बाध्य बनाइयो ।
यो बर्बर घटना राजस्थानको नागौर जिल्लामा भएको हो ।
कालबेलिया समाजका महिला र पुरुष जोडीमाथि अत्याचार गरिएको हो । उनीहरूलाई निर्ममतापूर्वक कुटपित समेत गरिएको छ । अनि दुवैजनाको कपाल काटेर अनुहारमा मोसो दलिएको छ । पुरुषलाई बोतलबाट पिसाब पिउन लगाइएको छ ।
प्रहरीले घटनामा संलग्न मानिसहरूको पहिचान गरेर सोधपुछका लागि प्रहरी चौकी बोलाएको छ । तर कुनै उजुरी दर्ता गरिएको छैन । अमानवीय घटना भएका कारण प्रहरीले आफैं संज्ञान लिएर अनुसन्धान शुरू गरेको हो ।
दोषीहरूमाथि कडा कारवाही गरिने प्रहरीको भनाइ छ ।
एजेन्सी