
काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा'ले माथिल्लो कमिटीको अनुमतिबिना तल्ला कमिटीहरूलाई निर्णय सार्वजनिक गर्न रोक लगाएका छन् ।
केहि दिन अघि पर्यटनमन्त्री योगेश भट्टराईलाई एक अराजक समूहले नेपालगञ्ज विमानस्थलमा गरेको दुव्र्यवहारको विषयमा राष्ट्रिय युवासंघका विभिन्न जिल्ला कमिटिहरुले फरक–फरक खालका धारणा सार्वजनिक गरेका थिए ।
उक्त समूहका नाइके ज्ञानबहादुर शाहीलाई राष्ट्रिय युवा संघ कास्की र धनुषाका कमिटीहरूले आफ्नो जिल्लामा प्रवेश निषेध भन्दै विज्ञप्ति निकालेका थिए । त्यसपछि सामाजिक सञ्जालमा युवा संघको आलोचना भएको थियो ।
अध्यक्ष सापकोटाले युवा संघका जिल्ला कमिटीहरुको विवादित धारणा सार्वजनिक भएसँगै माथिल्लो कमिटीको निर्देशनबिना कुनै पनि निर्णय सार्वजनिक नगर्न निर्देशन गरेका हुन् ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूमातहतका कमिटीहरूलाई निर्देशन दिँदै अध्यक्ष सापकोटाले लेखेका छन, ‘राष्ट्रिय युवा संघका कमरेडहरुलाई स्थानीय विषयबाहेक अन्य विषयहरुमा धारणा वा निर्णयहरु सार्वजनिक गर्नुपूर्व केन्द्र वा आफूभन्दा उपल्लो कमिटीसँग अनुमति लिनुहुन निर्देश गरिन्छ ।’
राष्ट्रिय युवा संघका कमरेडहरुलाई स्थानीय विषय बाहेक अन्य विषयहरूमा धारणा वा निर्णयहरू सार्वजनिक गर्नुपूर्व केन्द्र वा आफूभन्दा उपल्लो कमिटीसँग अनुमति लिनुहुन आग्रह गरिन्छ !
— Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) September 17, 2019