काठमाडौं , १९ चैत्र– सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि तीन जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी)को नाम सिफारिस भएको छ ।
सिफारिस हुनेमा नायब महानिरीक्षकहरू पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल छन् ।
गृह सचिवको नेतृत्वमा रहेको बढुवा समितिको शुक्रबार मध्यरातसम्म बसेको बैठकले तीन डिआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ सदस्य सचिव रहेको बढुवा समितिको निर्णय बमोजिम सिफारिस भएको नामलाई कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ ।
बढुवाका लागि सिफारिस भएका तीनै जना सशस्त्र प्रहरी भित्र अब्बल अधिकृतका रूपमा चिनिन्छन् । पुष्पराम केसीले सशस्त्र प्रहरीको नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन् । नारायणबाबु थापा एकेडेमीक हुन् भने रामशरण पौडेल लगनशील मान्छे भनेर चिनिन्छन् ।
