इटहरी, १९ चैत - नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानमा व्यवस्था भएअनुसार आगामी माघ ७ भित्रमा तीनैतहको निर्वाचन सम्पन्न गरी नेपाललाई समृद्ध जनप्रतिनिधिसहितको राज्य स्थापित गराउन एकढिक्का भएर निर्वाचनमा आउन सबैलाई अपिल गरेका छन् ।

नेपाली काँग्रेस सुनसरी निर्वाचन क्षेत्र नं २ ले आज इटहरीमा आयोजना गरेको क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री देउवाले सो अपिल गरेका हुन् ।
उनले संविधानको सफल कार्यान्वयन गर्दै सम्पूर्ण नेपालीलाई आत्म सम्मानसहित अधिकारसम्पन्न गराउन निर्वाचन अपरिहार्य भएकाले कसैले पनि कुनै बहानाबाजी निकालेर निर्वाचनमा भाग लिन्न भन्नु आफूले आफँैमाथि धोका दिनुबाहेक अरु केही सावित नहुनेमा पनि सभापति देउवाले जोड दिए ।
केपी ओलीलाइ लक्षित गर्दै सभापति देउवाले मधेसी, पहाडे वा हिमाली भूगोलको विषयमा विभेदपूर्ण कुराको उखान टुक्का निकालेर मानिसलाई चिढ्याउनुभन्दा पनि कसरी देशको हित सम्भव छ भन्नेतिर लाग्नु नै नेपालको हितमा हुनेतर्फ गम्भीर भएर सोची निर्वाचनलाई सबैको अपनत्व सिर्जना हुनेतर्फ अग्रसर बन्न पनि दलहरुलाई आग्रह गरे ।
मधेसवादी दलहरुले पनि निर्वाचनमा जान्न भन्ने मूर्खता नगर्न आग्रह गर्दै पार्टी सभापति देउवाले यस्तो अवस्थामा सबै मधेसी नागरिकले समेत चुनावमा भाग लिन आतुर भइरहेको अवस्थामा मधेसवादी दलहरुले चुनावमा भाग लिन्न भन्न थाले भने पार्टी नै जनताबाट तिरस्कृत हुने खतरा रहेको तर्फ पनि उनले सबै राजनीतिक दलहरुलाई सचेत गराए ।
सभापति देउवाले वर्तमान संविधान अपरिवर्तनीय नरहेको र समयसापेक्षरुपमा संविधानमा संशोधन गर्दै अघि बढ्नु नेपालीको हितमा रहेको उल्लेख गर्दै यो संविधानले महिला, पिछडा वर्ग, दलित, आदिवासी, जनजाति सबैलाई समानरुपमा अधिकार सम्पन्न गराउँदै समान सहभागिताको सुनिश्चिततासमेत गरेकाले यसको अधिकतम उपयोगमा जानुको विकल्प नरहेको पनि स्पष्ट परे ।
सो अवसरमा काँग्रेस केन्द्रीय सदस्यहरु विश्वप्रकाश शर्मा, मीनकुमार विश्वकर्मा, नेत्री डा डीला सङ्ग्रौलालगायतले नेपाली काँग्रेसले आमनेपाली जनताका लागि अघि सारेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै समृद्ध नेपाली समाज बनाउनका लागि आगामी स्थानीय तह, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा काँग्रेसलाई स्पष्ट बहुमत दिनुपर्ने आवश्यकतामा जोड दिए ।
क्षेत्रीय सभापति मणिराम श्रेष्ठको अध्यक्षतामा भएको उक्त आमसभामा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहता, सुनसरी पार्टी सभापति राजिव कोइराला सप्तरी सभापति दिनेश यादव, सुनसरीका सचिव केदार भण्डारी, राजिव ढुङ्गाना हेमकर्ण पौडेल, सिजन गुरुङ र विकास केसीलगायतले बोलेका थिए ।