म्याग्दी, चैत २० -सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली वैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ, गोरखापत्रमा खबर छ ।
भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले ४३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक अनुसन्धानपछि पूर्णता प्राप्त गरेको हो ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका ४० वर्षीय अनुसन्धानकर्ता भवीन्द्र कुँवर सुल्झिन नसकेर रहेको उक्त भौतिक शास्त्रीय समस्याको वास्तविक कारण र आखिरी समाधान पहिल्याउन सफल हुनुभएको हो । कुँवरले यस विषयमा केही वर्षदेखि निरन्तर रूपमा खोज गरिरहेका थिए । उनले केही वर्षदेखि यस विषयलाई पुस्तक, प्रवचन र अनुसन्धनात्मक लेखमा उल्लेख गर्दै आए पनि परीक्षणले पूर्णता भने केही महिनाअघि मात्र प्राप्त गरेको हो ।
सन् १५६४ मा इटालीमा जन्मिनुभएका महान् वैज्ञानिक ग्यालिलियोले २० वर्षको कलिलो उमेरमा भौतिकशास्त्रका क्षेत्रमा एउटा परीक्षण प्रयास थालेका थिए । त्यसपछिका न्युटन, एलम्बर्ट, इउलर, ह्यामिल्टन, आइन्स्टाइन जस्ता वैज्ञानिकले आफ्नो जीवनको धेरैजसो भाग त्यही प्रयासको वरिपरि बिताउँदा पनि समस्या सल्टिन सकेको थिएन ।