१५ असार २०८३, सोमबार
यातायात सुरक्षा

दशैंको मौकामा यातायात टिकटमा कालोबजारी गर्दै हुनुहुन्छ ? होसियार !

असोज ७, २०७६
दशैंको मौकामा यातायात टिकटमा कालोबजारी गर्दै हुनुहुन्छ ? होसियार !

काठमाडौं – कालोबजारी (ब्ल्याक) मा टिकट बेच्नेलाई नियन्त्रण गर्न प्रहरीले सादा पोशाकमा प्रहरी खटाएको छ ।

बसका टिकट बिक्री हुने नयाँ बसपार्क, गौशाला, कोटेश्वर, कलंकी लगायत ठाउँका काउन्टरबाट प्रहरीले निगरानी बढाएको हो ।

चाडपर्वलाई दृष्टिगत गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत सादा पोशाकमा प्रहरी खटाएको महानगरीय ट्राफिक प्रहरी महाशाखा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए ।

एसएसपी ढकालले लोकान्तरसँगको कुराकानीमा भने, ‘दशैैंतिहार, छठ र नेपाल संवत्को समयमा बजार क्षेत्र, मन्दिर क्षेत्रमा आ–आफ्नो घर जानको लागि नयाँ बसपार्क लगायत काठमाडौं उपत्यकामा भीडभाड हुने, जथाभावी पार्किङ हुने भएकाले विशेष व्यवस्था ल्याएका हौं ।’

नयाँ बसपार्कमा विशेष व्यवस्था

दशैंमा उपत्यकाको नयाँ बसपार्कबाट बाहिरिने २० लाख यात्रुलाई लक्षित गरेर ट्राफिक प्रहरीले नयाँ योजना ल्याएको छ । प्रहरीले उपत्यकाका १४ वटा हेल्प डेस्क (यात्रु सहायता कक्ष) स्थापना गर्ने भएको छ । नयाँ बसपार्कमा डेस्क स्थापना भइसकेको ट्राफिक प्रमुख ढकालले बताए ।

नयाँ बसपार्कबाट बाहिरिने हरेक यातायातका साधनले प्राविधिक चेकजाँचको प्रमाणपत्र प्रहरीलाई अनिवार्य रुपमा बुझाउनुपर्ने छ । 

हेल्प डेस्कबाट नागरिकले के सुविधा पाउँछन् ?

यातायात सेवामा नागरिक तथा यात्रु नठगिउन् भन्ने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको एसएसपी ढकालले बताए । ‘यात्रुहरूको यात्रा सहज होस्, यात्रुलाई ब्ल्याक टिकटबाट कसैलाई नठगोस् भन्ने हिसाबले स्थापना गरेका हौं,’ उनले भने ।

नागरिकलाई सुरक्षा सचेतना, सुरक्षाका टिप्स लगायतका विषयलाई सहयोग गर्नका लागि ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात कार्यालयका कर्मचारी र यातायात व्यवसायीको सहभागितामा हेल्प डेस्क स्थापना गरिएको एसएसपी ढकालले बताए ।

मादक पदार्थ सेवन जाँच कक्ष

मादक पदार्थ सेवनका कारण दुर्घटना हुने भएकाले दशैंतिहारमा बाहिरिने लामो दूरीका सवारीसाधन चलाउने चालकको मादक पदार्थ सेवन जाँच गर्न विभिन्न ठाउँमा जाँच कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

लामो दूरीका सवारीसाधनमा २ जना चालक अनिवार्य

उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारीसाधनले अनिवार्य रुपमा २ जना चालक राख्नैपर्ने भएको छ । २ चालकको नियम पुरानै भएपनि यातायात व्यवसायीले कार्यान्वयनमा लापरवाही गर्ने गरेका थिए । १ जना मात्र चालक हुँदा दुर्घटना हुने भएकाले अनिवार्यरुपमा २ जना चालक हुनुपर्ने नियममा कडाइ गरिने ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

‘बीचमा ड्राइभर परिर्वत गरे/नगरेको प्राविधिक संयन्त्र प्रयोग गरेर निगरानी गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘उपत्यकाको बसपार्कबाट ड्राइभरको फोटो लिइएको हुन्छ र त्यो फोटो देशका विभिन्न ट्राफिक प्रहरीहरूलाई पठाइएको हुन्छ । ड्राइभर परिर्वतन गर्ने स्थानमा ड्राइभर परिवर्तन भएको छ/छैन भन्ने विषय त्यहाँको ट्राफिक प्रहरीले हेर्छ ।’

कुनै सवारीसाधनले यात्रुलाई ‘मुडा मिलाइदिन्छु’, ‘मुडामा जानुपर्छ’ भन्यो भने ट्राफिक प्रहरी, प्रहरी वा नजिकैको सहायता कक्षमा सम्पर्क गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर १०३ मा समेत खबर गर्न सकिने छ ।

नागढुंगा–कलंकीमा गाडी बिग्रिए र्‍याकर प्रयोग !

सवारीसाधनलाई कलंकीको जामबाट मुक्त गर्न बिग्रिएका गाडी उठाउने उपकरण ‘र्‍याकर’को व्यवस्था गरिएको ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकालले बताए । ‘हामै्र नियन्त्रणमा हुने गरी नागढुंगामा एउटा र्‍याकर राखिएको छ, यदि कुनै ठाउँमा सवारीसाधन बिग्रिएमा तुरुन्त बिग्रेको गाडी उठाइने छ,’ उनले भने ।

‘पोशाक र आईडी कार्ड भएकासँग मात्र टिकट काट्नू’

उपत्यकाका बसपार्कका यात्रुले दलालबाट मुक्त हुन टिकट काट्नको लागि विशेष खालको पोशाक र आईडी कार्डको व्यवस्था गरिएको एसएसपी ढकालले बताए । ‘टिकट मिलाइदिन्छौं भन्दै हुने ठगी पूर्णरुपमा शून्यमा झार्नको लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी र प्रहरी लगायतको समन्वयमा यस्तो व्यवस्था गरेका हौं,’ ढकालले भने, ‘दुःखद घटना नघटून्, यात्रुलाई सास्ती नहोस् भन्ने कुरालाई मध्यनजर गरेर योजना बनाएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्