
काठमाडौं– प्रहरीले कृषि विकास बैंकको रकम ह्याक गरेर लुट्ने १० जनालाई पक्राउ गरेको छ ।
उनीहरुले कृषि विकाश बैंकको केन्द्रीय शाखाबाट करिब १ करोड ५६ लाख रुपैयाँ ह्याक गरेर लुटेको प्रहरीले जनाएको छ ।
कृषि विकास बैंकको विभिन्न शाखामार्फत ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीको उच्च स्रोतको दाबी छ ।
यसरी ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।
पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ, निर्मला तामाङलगायत रहेका छन् ।
यसैगरी सिरहाबाट पुष्पराज खड्का पक्राउ परेका छन् ।
यसै विषयमा जानकारी दिन प्रहरीले दिउँसाे २ बजे पत्रकार सम्मेलन गर्ने जनाएकाे छ ।