११ असार २०८३, बिहीबार

घरैपिच्छे पेट्रोल किनबेच, बस्ती पुरै असुरक्षित

घरैपिच्छे पेट्रोल किनबेच, बस्ती  पुरै असुरक्षित

बाँके–बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ ।

घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् ।

भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको नरैनापुर अहिले पनि बाँकेका अन्य स्थानीय तहको तुलनामा दुर्गम मानिदै आएको छ । यहाँ विकासका पूर्वाधार छैनन् । हुलाकी सडक भर्खरै जोडिँदै छ । विद्युत् पुगेको छैन । केही वडामा सोलार जडान गरिएको छ । सडक सञ्जालले जोडिएपछि यहाँ यातायात साधन बढेका छन् ।
 
तर, गाउँपालिकामै व्यवस्थित पेट्रोलपम्प छैन । गाउँमा सवारी साधन बढेसँगै तेलको माग हुन थालेपछि नरैनापुर–२ का ६३ वर्षे जेब्रिल खाँले पाँच वर्षदेखि घरमै पेट्रोल बेच्दै आएका छन् । तर, उनी आफैँ सुरक्षित महसुस भने गर्न नसकेको बताए। 'पेट्रोल राखिएको नजिकै ओछ्यान लगाएर सुत्छु', उनले भने, 'प्रायः त यहाँ पेट्रोल चोरी हुने गर्छ ।'

उहाँका अनुसार चोरी हुन नदिन पेट्रोल छेउमै सुत्ने अधिकांश व्यापारी कसैले रिसले आगो लगाइदिने हो कि भन्ने त्रासमा हुन्छन् । नरैनापुर–२ का ४० वर्षीय श्रीस बाबाले दुई वर्षदेखि पेट्रोल बेच्न थाल्नुभएको छ । एक लिटर पेट्रोलमा रु १० देखि २० सम्म नाफा देखेपछि यहाँका अधिकांश गाउँले पेट्रोल बिक्रीमा संलग्न भइरहेका छन् ।
 
यहाँ दैनिक १० देखि २० लिटर पेट्रोल बिक्री हुँदै आएको कारोवारमा संलग्नहरुको भनाइ छ । 'आगोबाट जोगाउनु मुख्य चुनौती छ', बाबाले भने, 'ठूलै पम्प खोलेर व्यवस्थितरूपमा व्यापार गर्न लगानी छैन ।' खुलेआम पेट्रोल बेच्नु सिङ्गो गाउँ नै असुरक्षित हुनु हो । यस्तो अवस्थामा स्थानीय तह बढी सचेत हुनुपर्ने देखिएको छ ।

खुला पेट्रोल व्यापारले सबैभन्दा बढी खतरा आगलागीको हुने नेपाल आयल निगम बाँकेका प्रमुख नवविनोद पोखरेलले बताए। उहाँका अनुसार गुणस्तरीय पेट्रोल नपाउनु, मात्रामा घटी हुनुले ग्राहक ठगिने सम्भावना पनि उत्तिकै बढी हुन्छ । स्थानीय तह, प्रहरी प्रशासन र निगमले यस विषयमा जनचेतना फैलाउनु जरुरी रहेको उनको भनाइ छ ।
 
नरैनापुरमा खुलेआम पेट्रोल बिक्री वितरण भइरहँदा स्थानीय तह र प्रहरी प्रशासनले रोकथामका लागि भने यस विषयमा चासो देखाएको छैन । खुलेआम पेट्रोल बेच्दा बस्ती नै असुरक्षित भएको नरैनापुर इलाका प्रहरी कार्यालयका प्रमुख भूपालसिंह ठकुरीले बताए। तर, यसको रोकथामका लागि भने प्रहरी मौन बसिरहेको स्थानीयवासीको गुनासो छ ।

प्रशासनले खुलेआम पेट्रोल बेच्नेलाई रोक लगाउन निर्देशन दिए पनि प्रहरीको बेवास्ता र स्थानीय तह मौन बस्दा खुलेआम पेट्रोल बिक्री रोकथाम हुनसकेको छैन । नरैनापुरको सिङ्गो गाउँपालिकामै पेट्रोलपम्प नभएको गाउँपालिका अध्यक्ष मोहम्द इश्तियाक शाहले बताए। घरघरमा असुरक्षित पेट्रोल बिक्री नियन्त्रणको सम्भावना नभएको भन्दै उहाँले सुरक्षित बिक्रीका लागि सचेतना आवश्यक रहेको बताए।
 

salt training

कमेन्ट गर्नुहोस्