काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ‘शी विचारधाराप्रति’ छुवाछुतको व्यवहार प्रकट गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले नेकपा नेपाली जनताको पथतिर लाग्ने भन्दै भ्रममा नपर्न आग्रह समेत गरे ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफ दिने क्रममा सरकारका प्रवक्ता बाँस्कोटाले नेकपा ‘शी पथ’मा लाग्यो भनेर अनावश्यक बहसमा समय खेर फालिएको टिप्पणी गरे ।
नेपाली कांग्रेसका नेताहरूले सरकार चीनले लिएको शी पथमा लागेको भन्दै विरोध गरिरहेका छन् ।
‘कसैले नेकपा शी पथमा भनेर लेखेका छन्, कसैले बेइजिङ निर्यात् विचार भनेको छ, त्यसो भए बुद्धको विचार कोरियामा किन ? भियतनामा किन ? श्रीलंका र भारतमा किन ?’ बाँस्कोटाले प्रश्न गरे, ‘डेमोक्रेसी यहाँको उत्पादन हो ? यो त ग्रीकबाट जन्मेको होला नि ! त्यहाँका दार्शनिकले ल्याएको होला नि ! समाजवादको कुरा डा. राममनोहर लोहियाले भारतमा उल्था गरेको समाजवादी विचार पनि युरोपमै जन्मेको हो । यहाँ भने अचम्म–अचम्मको बहसमा समय खेर फालेको छ ।’
मन्त्री बाँस्कोटाले नेपाली कांग्रेस र संघीय फोरमको महाधिवेशनमा समेत चिनियाँ कम्युनिस्ट पार्टीले शुभकामना दिने गरेको भन्दै छुवाछुतको व्यवहार प्रकट नगर्न कांग्रेसलाई सुझाव दिए ।
‘नेपाली कांग्रेस पार्टीको महाधिवेशनमा पनि चिनियाँ कम्युनिस्ट पार्टीले शुभकामना पठाएको र अंगालो मारेर शुभकामना दिएको होइन ?’ उनले प्रश्न गरे ।
मन्त्री बाँस्कोटाले नेपाली जनता तीव्र प्रतिक्षामा रहेको राष्ट्रपति शीको भ्रमण कसरी लाभदायी बनाउन सकिन्छ, लगानीको क्षेत्रमा के गर्न सकिन्छ भनेर बहसमा लाग्न आग्रह गरे ।
‘हामीले मोदीको पनि सहयोग लिइरहेका छांै, त्यसैले यसलाई कुनै बर्जित विषयको रूपमा चित्रण गर्नु लोकतन्त्रमाथिकै प्रहार हो,’ मन्त्री बाँस्कोटाले थपे, ‘२०४६ सालमा गणेशमान सिंहको भाषण घेर्न को को आएका थिए ? मण्डलेको तुजुक के थियो ? कसको नेतृत्वमा बानेश्वरदेखि चाक्सीबारीसम्म घेर्न गएका थिए ?’
मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणको तीव्र प्रतिक्षामा सरकार रहेको बताए ।