
काठमाडौं– कृषि विकास बैङ्क लहान शाखाबाट पाँच करोड पाँच लाख रुपियाँ सिस्टम ह्याक नभई चोरी भएको दाबी गरिएको छ ।
शाखाका कर्मचारीको युजर आईडी र पासवर्ड नम्बर चोरी गरी रकम चोरिएको बैङ्कले स्पष्ट पारेपछि प्रहरी र बैङ्कको कुरा बाझिएको छ ।
कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले युजर आईडी तथा पासवर्ड चोरी हुनुमा कर्मचारीलाई दोष देखाउँदै त्यसमा संलग्न शाखा प्रमुखसहित तीनजनालाई अनुसन्धानका लागि काठमाडौंँ झिकाइएको बताए।
यस घटनाको विस्तृत अनुसन्धान गर्न विभिन्न शाखा हेर्ने केन्द्रका प्रमुख विनोद कोइरालाको संयोजकत्वमा चार सदस्यीय टोली खटाइएको छ । सो टोलीको अनुसन्धानबाट युजर आईडी र पासवर्ड चोरी भए नभएको वा संलग्नता बारे प्रष्ट हुने छ ।
‘प्रहरीले भनेजस्तो सिस्टम नै ह्याक भएको देखिँदैन', उपमहाप्रबन्धक दीर्घ अर्यालले भने, ‘लहान शाखाको पनि ब्याजस्वरूप जम्मा भएको रकम ग्राहकको व्यक्तिगत खातामा सारेको देखिन्छ । यसमा ह्याकरभन्दा कर्मचारीको मिलिमतो हुन सक्ने देखिन्छ ।’
शाखा प्रमुख र दुई अधिकृत गरी तीन जनालाई छानविनका लागि बैङ्कको केन्द्रीय कार्यालय काठमाडौँ तानिएको छ । शाखा प्रमुखले पनि दुई जना कर्मचारीको युजर आईडी र पासवर्ड चोरी भएको स्वीकारेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।