०४ असार २०८३, बिहीबार

एउटा धुपीको मूल्य ७० हजार !

कात्तिक २०, २०७४
एउटा धुपीको मूल्य ७० हजार !
काठमाडौं, २० चैत — एउटै बोटको मूल्य ७० हजार पर्छ भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । त्यो पनि धूपीको बोट । राजधानीको भृकुटीमण्डपमा बिहीवारदेखि चलिरहेको फूल मेलामा अरू फूल स्टलभन्दा भिन्न देखिएको थियो प्रणिता शेर्पाको बोटबिरुवा स्टल ।

उनको स्टलमा तीन इन्चको बोटबिरुवादेखि डेढ फीटको बिरुवासम्म बिक्रीका लागि राखिएको थियो । ती बोटहरूलाई उनले एक वर्षदेखि ३० वर्षसम्म लगाएर स्याहारेकी थिइन् । उनको स्टलमा पुगेपछि फूलमेला हेर्न आउने जोकोही एकछिन नहेरी फर्कंदैनन् । ती अचम्मका देखिने होचा बोटबिरुवा २० औं वर्षदेखि स्याहारिएका थिए ।
उनको छुट्टै कुनै नर्सरी छैन र उनले आफ्नै घर बुढानीलकण्ठमा घरको आँगनमा यी ससाना बोटहरू बोन्जाई गरेर तयार पारेकी हुन् । प्रणिता एक कुशल गृहिणीका साथसाथै ससाना बोटबिरुवाकी ‘आमा’ पनि हुन् ।
उनी बूढानीलकण्ठस्थित आफ्नै घरमा ती बोटबिरुवालाई स्याहार्ने काम गर्थिन् ।

‘आफ्ना बच्चालाई स्याहारे जस्तै वर्षौं स्याहारसुसार गर्नुपर्छ । त्यो पनि एकदुई वर्ष होइन, वर्षौंवर्षसम्म,’ उनी भन्छिन् ।
 
हेर्दा अलग देखिने ती होचा होचा बोटबिरुवा प्रदर्शनीमा अरूभन्दा निकै भिन्न देखिन्थे । उनको संकलनमा ६ महिनादेखि ३० वर्षसम्मका बोटबिरुवा रहेका छन् ।

उनले यस कार्यमा लाग्ने प्रेरणा उनको आमा कृष्णमाया लामाबाट पाएकी थिइन् । एकहप्ते तालिम लिएर बोन्जाई प्रविधि सिकेकी थिइन् उनले ।
‘बोन्जाई प्रविधि गाह्रो काम हो । यसमा बोटबिरुवालाई सानो र होचो बनाउन वर्षौं मेहनत लाग्छ,’ उनले भनिन् ।

पहिला त कुनै तालिम विना नै काम शुरु गरेकी थिइन् उनले । त्यसपछि चाहिँ तालिम लिइन् । यस्ता बोटविरुवा स्याहार्न र अनुकूल हावापानी मिलाउन गाह्रो पर्दछ ।
‘यसमा निकै धैर्य पनि चाहिन्छ,’ उनले भनिन्, ‘काँटछाँट गर्नेदेखि लिएर जरा काट्ने टुप्पा चिमोट्नेसम्म गर्नुपर्छ ।’

बीउ रोप्नेबेलादेखि नै यसको स्यहारमा लाग्नुपर्ने उनको भनाइ छ । बिरुवालाई दुवैतिर चिमोट्दा बीचको भाग मात्रै बढ्ने कारण बिरुवा होचा हुने गर्छ ।
चीनबाट उत्पत्ति भएको यो कला पछिल्लो समयमा जापानमा प्रख्यात छ । बाहिरी मुलुकबाट बोन्जाई गरेका बोटविरुवा निर्यात गर्दा निकै महंगो पर्ने हुन्छ ।

नेपालमा यसको बजार खासै भेटिन्न । एक त यी बोटविरुवा निकै वर्षको मेहनत लगाएर बनाउनुपर्ने हुन्छ भने अर्कोतर्फ वर्षौंको मेहनतअनुसार बिरुवाको मूल्य पनि त्यही अनुसार महंगो हुन्छ ।
यसमा बीउ उम्रने बेलादेखि सानो बच्चालाई हुर्काएजस्तै स्याहार्नु पर्नेसमेत उनले बताइन् । उनका अनुसार अरू बिरुवा झैं सजिलो तरिकाले उर्मान सकिँदैन ।

विशेषतः घर वा कोठाको सानो ठाउँमै सजाएर राख्न सकियोस् भन्ने यसको प्रयोजन हो ।
प्रणिता एक क्राफ्ट डिजाइनर पनि हुन् । त्यसैले उनले बोन्जाई प्रविधिबाट हुर्काएका बोटविरुवालाई एउटा छुट्टै घर वा बगैंचा बनाएर सजाएर राख्न सक्ने उनको खुबी हो ।

यसअघि प्रणिताको यो कला उनको घरभित्र मात्रै सीमित थियो । भृकुटीमण्डपमा भइरहेको फूलमेलामा यो उनको पहिलो सहभागिता हो । उनले नेपाली जडीबुटीलाई बोन्जाई गर्ने काम थालेकी छन् ।
उनले मेपल ट्री, क्यानेडियन, जापानीज इलम किसिमको बोटबिरुवामा पनि बोन्जाई प्रविधि प्रयोग गरेकी छिन् । प्रणिताका आमा कृष्णमायाले ३० वर्षअघि धुपीको बोटलाई बोन्जाई गरेकी थिइन् र त्यसलाई हुर्काएर अहिलेसम्म पनि प्रणिताले जोगाइराखेकी छिन् ।
एक फूट अग्लो यो धुपीको बोटको मूल्य ७० हजार लाग्ने उनले बताइन् । जति बढी वर्ष र मेहनत लाग्छ, त्यसअनुसार नै बिरुवाको मूल्य निर्धारण हुन्छ । उनले एक वर्षदेखि २०–२५ वर्षसम्मका ससाना बोटबिरुवा स्याहारेकी छन् । उनी यसमा लागेको २६ वर्ष भइसक्योे ।


तस्वीर : अशोक महर्जन

salt training

कमेन्ट गर्नुहोस्