
इतिहासमा क्रूर शासकहरूका बारेमा धेरै विवरणहरू भेटिन्छन् । त्यसमा तैमूरलंगको नाम सर्वोपरि छ ।
तैमूर आफ्नो समयको क्रूर शासक र भयंकर हत्यारा मानिन्छ ।

तैमूरको जन्म उज्बेकिस्तानको शहर ए सब्जमा सन् १३३६ मा भएको थियो ।
अत्यन्त गरीब परिवारमा जन्मेको तैमूरले सानातिना चोरीहरू गर्ने गरेको थियो । पछि उसले गिरोह बनाएर लूटपाट गर्न थाल्यो ।
सन् १३६९ मा समरकन्दका मंगोल शासकको मृत्यु भएपछि तैमूरले त्यहाँ कब्जा जमायो । चंगेज खानले जस्तो तैमूर पनि संसार कब्जामा लिन चाहन्थ्यो ।
तैमूरको अर्थ फलाम हुन्छ र लंगको अर्थ लंगडो । एउटा युद्धमा गोडा गुमाउनुपरेपछि तैमूरलाई तैमूरलंग भन्न थालियो । आफूलाई चंगेज खानको वंशज मान्ने भएपनि तैमूर खासमा तुर्की थियो ।
तैमूरले पहिलोचोटि सन् १३८० मा इराकको राजधानी बगदादमाथि आक्रमण गरेर हजारौंको हत्या गरेको थियो । त्यतिखेर त्यहाँ खोपडीहरूको पहाड नै बनेको बताइन्छ । तैमूरलाई मारिएका मानिसको टाउको थुप्रो बनाउन रमाइलो लाग्थ्यो रे ।
धेरै देशमा आक्रमण गरेर लूटपाट मच्चाएपछि तैमूरको सेना ठूलो भयो । तेज दिमाग भएको निडर मानिस थियो तैमूर र उसलाई सैनिकहरूले सम्मान गर्थे । ऊ जहिले पनि युद्धमोर्चाको अग्रपंक्तिमा बसेर सैनिकहरूलाई जोस्याउँथ्यो ।
धेरैतिर लूटपाट मच्चाएपछि भारततिर आँखा लगायो तैमूरले । त्यहाँ अथाह धनसम्पत्ति छ भन्ने थाहा पाएपछि ऊ आक्रमणका लागि आतूर थियो ।
सन् १३९८ मा तैमूरले भारतमा आक्रमण गरेर धेरै मानिस मारेर कैयौं मन्दिर पनि नष्ट गरेको थियो ।
कश्मीर हुँदै दिल्ली पुगेको तैमूरले त्यहाँ पाँच दिनसम्म सामूहिक हत्याकाण्ड गरायो । त्यस्तै उसले मेरठ, हरिद्वार, पञ्जाबमा पनि लूटपाट ग–यो । भारतमा उसले त्यतिखेरको कुल जनसंख्याको पाँच प्रतिशत अर्थात् दुई करोड मानिसको हत्या गरेको इतिहासकारहरू बताउँछन् ।
भारतमा ६ महिना मात्र बसेर तैमूर घर फर्कियो ।
उज्बेकिस्तानमा आज पनि मानिसहरू तैमूरलाई नायक मान्छन् । उसका प्रतिमा र मूर्ति धेरै ठाउँमा राखिएका छन् । उसका अत्याचारको चर्चा त्यहाँ पटक्कै गरिँदैन ।
एजेन्सीको सहयोगमा