
घरघरमा मुसाले सामान चपाइदिएर दुःख दिन्छ । घरमा घुसिसकेपछि कपडा, किताब र अनाज ध्वस्त पार्न मुसाले बेर लगाउँदैन । किन मुसाले यसरी सामान चपाइदिन्छ र मुसाका अन्य रोचक तथ्य के हुन्, यहाँ हामी बताउँछौं ।

खासमा मुसाको दाँत एकदमै तीखो हुन्छ र छिटो छिटो बढ्छ । यसले केही कुरामा दाँत लगाएन भने वर्षभरिमा दाँत एकदेखि दुई इन्च बढ्छ र उसको दाह्रा नै फुटाउँछ । त्यसैले यसलाई घोटेर साइजमा राख्नु मुसाको बाध्यता हो, कुनै रहर होइन ।
मुसासम्बन्धी अन्य रोचक तथ्यको कुरा गर्नुपर्दा पृथ्वीमा यसको संख्या मानिसको संख्याभन्दा दश गुणा बढी छ । चारपाँचवटा मुसा मिलेर एउटा मानिसको जति खानेकुरा सजिलै खाइदिन्छन् ।
एक मुसा र मुसीले वर्षभरिमा एक हजार बच्चा जन्माउनसक्ने क्षमता राख्छन् ।
वैज्ञानिकहरूका अनुसार एउटा मुसाले दुई महिनाको उमेरदेखि नै बच्चा पाउन सक्छ र हरेक तीन हप्तामा १२ वटा बच्चा पाइदिन्छ ।
मुसाको उमेर एकदेखि दुई वर्षको हुन्छ तर पूर्ण स्याहार पायो भने यो पाँच वर्षसम्म बाँच्न सक्छ ।
मुसाको शारीरिक क्षमताको कुरा गर्नुपर्दा यो डेढ फीटसम्म उफ्रिन सक्छ र पानीमा पनि तैरिन सक्छ ।
संस्कृतमा मुसालाई मूषक भनिन्छ जसको अर्थ ‘चोर’ पनि हुन्छ ।
मुसाको मुटु एक मिनेटमा लगभग ६३२ चोटि धड्किन्छ भने मनुष्यको मुटु एक मिनेटमा ६० देखि सयचोटि ढुकढुक गर्छ ।
मुसाको दिमाग मानिसको जस्तै हुन्छ र उसले मान्छेले जस्तै सोचविचार गर्न सक्छ ।
मुसाहरू गीत गाएर एकअर्कासँग संवाद गर्छन् । मुसाले वातावरणमा ध्वनि तरंग छोड्छ जसलाई अर्को मुसाले सजिलै समात्छ । यी ध्वनि तरंग ५० देखि सय किलोहर्जको हुन्छ ।
हिन्दू धर्ममा देवीदेवताको वाहन जनावर हुन्छ । गणेशजीको वाहन मुसा हो । गणेशजीका केही मन्दिरमा मुसाको पनि पूजा हुन्छ ।
एजेन्सीको सहयोगमा