०७ असार २०८३, आइतबार

बहुविवाह गरेपछि जेल पुगे पतिपत्नी

बहुविवाह गरेपछि जेल पुगे पतिपत्नी

महोत्तरी – जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन् ।

जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त रहेका छन् ।

राधारमण झाको पहिलो पत्नी अञ्जु झा हुँदाहुँदै उनले कान्छी पत्नी पूजालाई भित्र्याएपछि पहिलो पत्नी अञ्जु झाले पति र उनका कान्छी पत्नीविरुद्ध जिल्ला अदालतमा बहुविवाह मुद्दा दिएकी थिइन् ।

महोत्तरी जिल्ला अदालतले सोही बहुविवाह मुद्दाअन्तर्गत विक्रम संवत् २०७५ मा गरेको फैसला अनुसार राधारमण र उनकी कान्छी पत्नी पूजासहित दुवैलाई जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

उच्च अदालत जनकपुरको २०७६ साउन १५ गते भएको शुरू फैसला सदर भएपछि दुवै पतिपत्नीलाई जनही १ वर्ष कैद र १० हजार जरिवाना गरिएको हो ।

जिल्ला र उच्च दुवै अदालतको आदेशपश्चात शुक्रवार पतिपत्नी दुवै जना आफैं निवेदन साथ उपस्थित भई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएका छन् । 

कमेन्ट गर्नुहोस्