०४ असार २०८३, बिहीबार

दशैं लक्षित खसीबोका बजार शुरू

दशैं लक्षित खसीबोका बजार शुरू
फाइल फोटो

रौतहट – ठाडो मूल्यमा ‘बिचौलिया’लाई खसीबोका बिक्री गर्दै आएका किसान अब जोखेर मात्रै बिक्री गर्न थालेका छन् । 

गत वर्षसम्म मुखैका भरमा मोलमोलाई हुन्थ्यो । अहिले जोखेर नै बिक्री गर्न थालेको चन्द्रपुर नगरपालिका–२ रैयाटोलका किसान बताउँछन् ।

पारिश्रमिक सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडले अहिले टोलकै संकलन केन्द्रमा जोख्ने उपकरण जडान गरिदिएपछि उनीहरूले पालेका खसीबोका जोखेर बिक्री गर्न थालेका हुन् ।

सहकारी संस्था लिमिटेडमा आबद्ध २६८ जना महिला शेयर सदस्यले पालेका खसीबोका हरेक मंगलवार लाग्ने रैयाटोल खसी बजारमा खसीबोका जोखेर नै बिक्री वितरण गर्दै आएका छन् । 

ठाडो मूल्यमा ‘बिचौलिया’लाई खसीबोका बिक्री गर्दा किसान मारमा पर्ने गरेको कारण अब किसानले जोखेर बिक्री गर्न लागेको सो संस्थाकी सचिव रिता थापाले जानकारी दिइन् ।

यसैबीच संस्थाले नजिँकदै गरेको बडादशैंलाई लक्षित गरी खसीबोका बजार लगाएको छ । संस्थामा आबद्ध महिला सदस्यहरुले पालेको खसीबोका त्यही बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् । 

महिलाको जीविकोपार्जन र आर्थिक सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले महिलाहरू अहिले खसीबोका पालन व्यवसायमा जोड दिएका छन् । महिला सदस्यले पालन गरेको खसीबोका बिक्रीका लागि लक्षित गरेर लगाइएको बजारमा व्यापारीहरू खरीद गर्न आउने गरेका छन् ।

३० किलोग्रामभन्दा कमको खसीबोकाको जीउँदो प्रतिकेजी ५०० र ३० केजीभन्दा माथिको खसीबोकाको जीउँदो प्रतिकेजी ५५० बिक्री मूल्य तोकिएको सचिव थापाले बताइन् ।

दशैं लक्षित लगाइएको बजारमा मंगलवार मात्र १६३ वटा बोकाको ३ हजार २५२ किलो, ४९ वटा खसीको १ हजार ४२८ किलो, २ वटा माउ बाख्रा र ७ वटा पाठीको १०३ किलो बिक्री भएको स्थानीय पशु प्राविधिक राजन थापाले जानकारी दिए ।

खसीबोका पाल्न थालेपछि स्थानीय महिलाको आयआर्जनमा समेत वृद्धि भएको छ । प्रत्येक महिला सदस्यले कम्तिमा २ देखि ५ वटासम्म खसीबोका र पाठी बेच्ने गरेका छन् । खसीबोकाको मुख्य बजार गौर, चपुर, वीरगञ्ज, जनकपुर, नारायणगढ र काठमाडौं हो । स्थानीय खसीको माग बढेकाले उनीहरुलाई बिक्री नहुने चिन्ता पनि छैन । 

भन्सार विभागको तथ्यांकअनुसार २०७५ साउनमा दशैंलाई लक्षित गरी ३७ करोड २१ हजार रुपैयाँका ४५ हजार ७ सय ९८ खसीबोका आयात भएको थियो । काठमाडौं उपत्यकामा मात्र वार्षिक ६ लाख र मुलुकभर १ करोड १८ लाख खसीबोका आवश्यक पर्ने तथ्यांक छ । – उत्तमकुमार उपाध्याय/रासस

salt training

कमेन्ट गर्नुहोस्