०४ असार २०८३, बिहीबार

ज्ञानेन्द्र शाही थप उपचारका लागि काठमाडौं रिफर

ज्ञानेन्द्र शाही थप उपचारका लागि काठमाडौं रिफर
फाइल फोटो

चितवन – भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको सांघातिक आक्रमणपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

भरतपुरको चौविसकोठीमा आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो शाहीमाथि आक्रमण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरको होटल ग्लोबलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नम्बरको माइक्रो बसमा आक्रमण भएको हो । युवा समूहले ढुंगा, रड, लाठी प्रहार गरी माइक्रो बसभित्र रहेका शाही सहितको समूहमाथि आक्रमण गरेको हो ।

प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घाइते शाही चितवन मेडिकल कलेजको उपचारपछि काठमाडौं गएका छन् । उनको अवस्था खतरामुक्त रहेको मल्लले बताए ।

शाहीले काठमाडौंको अस्पतालमा उपचार गर्न चाहेको बताएपछि अस्पतालले रिफर गरेको हो । उनको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा समस्या भएको छ । 

आक्रमणमा घाइते भएका अन्य २ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए ।

प्रहरी उपरीक्षक मल्लका अनुसार सो क्रममा आक्रमण गर्ने १ जनालाई पक्राउ गरिएको छ । उनीमाथि आक्रमण भएको खबर पाउनासाथ उद्धार गरिएको प्रहरी उपरीक्षक मल्लले बताए ।

त्यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवाहरुले चौविसकोठीमा शाहीले सम्बोधन गर्ने गरी गर्न लागिएको कार्यक्रम बिथोलेका थिए ।

झडप हुन सक्ने भन्दै प्रहरीले पनि कार्यक्रम नगर्न आग्रह गरेको प्रहरी उपरीक्षक मल्लले बताए । शाहीमाथि कसले आक्रमण गर्‍यो भन्ने विषयमा बुझ्ने काम भइरहेको उनले बताए । सो क्रममा माइक्रोबस समेत तोडफोड भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्