
काठमाडौं – अस्ट्रेलियाको सिड्नीमा एकजना व्यक्तिले अदालतकक्षमा जुरी सदस्यहरूतिर थुकेका छन् ।
आफ्नो भतिजोले विवाहेतर सम्बन्ध राखेपछि उनले हत्या गरेकोमा उनलाई दोषी ठहर गरिएको थियो ।
ती ५० वर्षीय व्यक्तिले भतिजोलाई मारेको कुरा अस्वीकार गरेका छन् । उनले अर्धस्वचालित हतियार प्रयोग गरेर पश्चिमी सिड्नीमा सन् २०१५ मा भतिजोको हत्या गरेका थिए ।
२३ वर्षीय भतिजोले काकीसँग अन्तरंग सम्बन्ध राख्दै घन्टौं बिताएको र त्यो थाहा पाएपछि रिसाएका काकाले भतिजोको टाउको र मुटुमा गोली हानेको आरोप थियो ।
उनी विदेशबाट आएर पत्नी र भतिजोसँग बसिरहेका थिए । आफ्नी छोरीलाई विवाह गराउनका लागि उनी आइपुगेका थिए ।
११ सदस्यीय जुरीले एक हप्तासम्म यसमा विचार गरेपछि न्यायाधीश पिटर जोनसनले निर्देशन दिन भनेका थिए ।
त्यो भनेको एक घण्टामा उनीहरूले आफ्नो राय व्यक्त गरेका थिए ।
दोषी ठहर गरिएपछि आरोपित खङ्ग्रङ्ङ परेका थिए । त्यसपछि उनले जुरी सदस्यहरूलाई तथानाम गाली गरे ।
‘म निर्दोष छु, मैले उसलाई मारेको हैन,’ उनले लगातार भने । ‘म पनि तिमीहरू जस्तै त हो, म अस्ट्रेलियन हो ।’
त्यसपछि उनले न्यायाधीश जोनसनमाथि पनि आक्रोश पोखे । अनि उनले जुरी भएतिर फर्किएर थुके ।
‘तिमीले उनीहरूलाई सहयोग गर्यौ, मलाई दोषी साबित गर्न उनीहरूलाई तिमीले अवसर दियौ । तिमीहरू सुँगुर हौ । तिमीले उनीहरूलाई सहयोग गर्यौ, तिमीहरू प्रहरीका कुकुर हौ,’ उनले भने ।
उनलाई बल लगाएर अदालतबाट निकालिएको थियो ।
जुरीलाई यसरी दुर्व्यवहार गरिएको आफूले यसअघि कहिले पनि नदेखेको न्यायाधीश जोनसनले बताए ।
एजेन्सी