काठमाडौं २० चैत– नयाँ शक्ति छाडेर फोरम लोकतान्त्रिक प्रवेश गरेका शोनाम छिरिङ शेर्पाले देशको अबको प्रधानमन्त्री विजयकुमार गच्छेदार बन्ने दावी गरेका छन् ।

आइतवार काठमाडौंमा नयाँ शक्ति त्यागेर गच्छेदारको फोरम प्रवेश कार्यक्रममा नेता शेर्पाले गच्छेदारलाइ भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका हुन् । स्वयं गच्छेदारले पनि आफूलाई प्रधानमन्त्री बन्न आर्शिवाद प्राप्त भएको बताए ।
‘८५ बर्षका तिलखबहादुर नेगीले मलाई प्रधानमन्त्री बन्न आर्शिवाद दिनु भएको छ । जेष्ठ नागरिकबाट देखि प्लसटू पढने पुस्ताबाट मलाई सद्भाव प्राप्त छ’ गच्छेदारले भने ।
नयाँ शक्तिका नेता शेर्पाले भाषण गरेपछि कार्यक्र उद्घोषकले पनि गच्छेदारलाई प्रधामनन्त्री बन्ने शुभकामना आएको भनेर हर्ष व्यक्त गरे । कार्यक्रममा गच्छेदारले पार्टीलाई पहिलो शक्ति बनाउन पार्टीको नाम नै फेर्ने तयारी गरेको बताए ।
‘पहिलो चुनावमा हामी मधेशको पहिलो पार्टी र संसदको पाँचौ शक्ति बन्यौं । अब देशकै पहिलो पार्टी बन्छौ ।’ उनले ठूला पार्टी असफल भएको आरोप लगाए ।