
बेझाड– पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीस्थित जनकल्याण माविमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा रु १७ लाख बराबरको रकम संकलन भएको छ ।
विद्यालयमा सञ्चालित प्राविधिक धारअन्तर्गतको कृषि बाली विज्ञान शिक्षा सञ्चालनका लागि सहयोगार्थ शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको हो ।
शैक्षिक तथा धार्मिक महोत्सव अवधिभर पण्डित ऋषिकेश पोखरेलले कथाअनुसार झाँकीसहित सङ्गीतमय शैलीमा कथा वाचन गरेका थिए । महोत्सव अवधिभर २० हजार दर्शकले अवलोकन गरेका शिक्षक रामप्रसाद भण्डारीले जानकारी दिए।
यही असोज १ देखि ८ गतेसम्म चलेको शैक्षिक तथा धार्मिक महोत्सवमा रम्भा–१ हुँगी बस्ने भीमसेन पछाईले सबैभन्दा बढी रु एक लाख ११ हजार १०१ रकम सहयोग गरेका छन् ।
यसै आर्थिक वर्षदेखि विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत कृषि बाली विज्ञान विषय पढाइ भइरहेको छ । कृषि बाली विज्ञानमा हुँगी क्षेत्रका २७ जना विद्यार्थी अध्ययनरत छन् ।
रम्भा गाउँपालिकामा पहिलो पटक प्राविधिक धारअन्तर्गत यस विद्यालयमा कृषि बाली विज्ञान पढाइ शुरू गरेपछि स्थानीय अभिभावक खुशी भएका छन् ।
सडक अवरुद्ध : खाद्यान्न अभाव
वर्षाका कारण सडक अवरुद्ध हुँदा पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा खाद्यान्न अभाव भएको छ ।
करीब एक महीनादेखि गाउँमा सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा सवारी साधन ठप्प भएपछि शहर बजारबाट गाउँमा खाद्यान्नका सामग्री लैजान नसक्दा खाद्यान्न अभावको सिर्जना भएको हो ।
रानीबास, झर्लेङ, कोटथर, भञ्ज्याङथोक, बेलौजा, गाबुडाँडालगायतका गाउँमा सञ्चालनमा रहेका किराना पसलमा दैनिक उपभोग्य खाद्यान्न सामग्रीको अभाव देखिएको छ ।
वडाको पूर्वी नाका रिमीघा लेकको लभडाँडामा पहिरोले सडक पुरिँदा जीप तथा मोटरसाइकललगायतका सवारी साधन ठप्प छन् । सडक पहिरोले पुरिँदा पैदल हिँड्ने यात्रुलाई समेत गन्तव्यसम्म आवतजावत गर्न समस्या परेको छ ।
फोक्सिङकोटकै पश्चिम नाका वडा कार्यालय, रानीबास हुँदै तानसेन जाने खण्डको रानीबासको लम्भारमा पहिरो जाँदा सडक अवरुद्घ भएको छ । वडाको झर्लेङ हुँदै तानसेन जाने मोटरबाटो तथा गाबुडाँडा झेस्काङ हुँदै तानसेन जाने बाटोसमेत लामो समयदेखि अवरुद्ध रहेको छ ।
रम्भा गाउँपालिकाले डोजर लगाएर पहिरो हटाए पनि पटकपटक वर्षाका कारण सडक बन्द हुँदा स्थानीयवासी मर्कामा परेका छन् । लगातार पानी परेका कारण सडक सरसफाइ गर्न समस्या परेको वडाध्यक्ष उमानसिं सारुले बताए।
दशैँ पर्वको मुखमा सडक अवरुद्ध हुँदा अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा गाउँदेखि बाहिर बसोबास गरेका नागरिकलाई गन्तव्यस्थलमा पुग्न समस्या परेको स्थानीय एवत सारुले बताए।
लामो समयसम्म सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या परेको छ । गाउँपालिका केन्द्र पिपलडाँडा र सदरमुकाम तानसेन पैदल हिँडेर जानुपर्ने बाध्यता सिर्जना भएको छ ।