३० जेठ २०८३, शनिबार

कलेज प्राध्यापकले बच्चालाई ढाडमा बोकेर तीन घन्टासम्म पढाइन्

कलेज प्राध्यापकले बच्चालाई ढाडमा बोकेर तीन घन्टासम्म पढाइन्

काठमाडौं – अमेरिकाको जर्जियामा बायोलोजीकी असिस्टेन्ट प्रोफेसर रमाता सिस्सोको सिस्सेले ढाडमा कपडा बाँधेर बच्चा राखी तीन घन्टासम्म पढाएकी छन् । 

बिहीवार उनकी एक विद्यार्थीले धाईआमा नआएका कारण बच्चा कक्षमा ल्याउनुपरेको बताइन् । प्राध्यापक सिस्सेले कक्षामा बच्चा ल्याउने अनुमति दिइन् । उनी आफैं तीन बच्चाकी आमा हुन् । 

तर कक्षामा बच्चा चलेको चल्यै गर्न थाल्यो र विद्यार्थीलाई छोरो सम्हाल्न गाह्रो भयो । उनले एनाटोमीको नोट लिनै सकिनन् । 

त्यसपछि सिस्सेले बच्चालाई प्रयोगशालामा लगाइने सेतो कोटले ढाडमा बाँधेर बोकिन् । बच्चा तत्कालै निद्रामा पुग्यो र कक्षा नसकिउन्जेल शान्त रह्यो । 

सिस्सेले त्यसपछि स्नायु प्रणाली, मस्तिष्कको कामकारवाही र मेटाबोलिजमका बारेमा विद्यार्थीहरूलाई पढाइन् । 

एक विद्यार्थीले बच्चा कसरी शान्त भएर सुत्न सक्यो भनी सोधे । 

सिस्सेले आफ्नो शरीरको तापक्रमका कारण बच्चोलाई सहज र न्यानो अनुभव भएको र त्यसैले ऊ आराम गर्न पाएको भनी सम्झाइन् । 

पछि बच्चो भोकाएपछि बच्चाको दूधको बोतल चिसो भइसकेको अनि दूध तताउँदा उसको मेटाबोलिजमलाई सहयोग पुग्ने सिस्सेले बताइन् । 

सिस्से जर्जिया ग्विनेट कलेजमा पढाउँछिन् । बच्चाकी आमाको नाम खुलाइएको छैन । 

सिस्सेले कष्ट खेपेर अर्काका बच्चा सम्हाल्दै पढाएको कामको धेरैले प्रशंसा गरेका छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्