
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बालुवाटारमा शुरू भएको छ ।
सभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार काण्ड चर्चामा आएपछि नेकपा सचिवालयको आकस्मिक बैठक बसेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शुरू भएको बैठकमा सभामुख महरालाई राजीनामा दिन लगाउने विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ । ९ सदस्यीय नेकपा सचिवालय बैठकमा सबैको सहभागिता रहेको छ ।
सचिवालय बैठकअघि बिहान पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सभामुख महराबाट गल्ती भएको निष्कर्षसहित राजीनामा दिन लगाउने सहमति भएको स्रोतको दाबी छ ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आइतवार राति आफ्नो डेरामा आएर सभामुख महराले बलात्कार गरेको गम्भीर आरोप लगाएकी छन् । सभामुख महराको सचिवालयले भने आरोपको खण्डन गरेको छ ।