
काठमाडौं–सभामुख कृष्णबहादुर महरा एउटा यौन प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिन बाध्य भएपनि यसबारे अनेकौं ट्वीस्ट आउने क्रम जारी छ। अघिल्लो दिन (सोमबार) महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको पीडित महिलाले आरोप लगाएपनि मंगलबार आफ्नो बयान फेर्दै महिलाले महरा आफ्नो बाबु सरहको व्यक्ति भएको भन्दै समाचारको खण्डन गरेकी थिइन् ।
त्यसलगत्तै महरा प्रकरणका थप ‘ट्वीस्ट’ आएको छ । राजीनामा दिएका सभासद कृष्णबहादुर महरा र पीडित भनिएकी महिलाको भाइबर म्यासेजको केही सन्देश सार्वजनिक भएको हो ।
एक अनलाइनले रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गरेको हो । जुन प्रकरणमा सोही अनलाइन (हाम्रा कुरा डटकम) ले सामाचार बाहिर ल्याएको थियो । ७ मिनेट लामो भिडियो कुराकानीमा महरा र रोशनीबीच भएको सम्वादको कुरालाई निरन्तरता दिइएको छ ।
भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफीसमेत मागेका छन् । उनले म्यासेजमा लेखेका छन्, फर्गेट एस्टर्डे (आइतबारको कुरा छाडिदेउ)। आइतबार साँझ घटना भएपछि सोमबार बिहान ८ बजेर ८ मिनेटमा महराले महिलालाई म्यासेज गर्दै फर्गेट एस्टर्डे भनेका छन् ।
त्यसको जवाफमा भने महिलाले भने ८ बजेर ३८ मिनेटमा जवाफ फर्काउँदै अनादरयुक्त जवाफ फर्काएकी छिन् ।
उनले लेखेकी छिन्, सबैतिर तेरो र्युमर फैलाउँछु, अब सिजेलाई पनि सबै भने, तेरो उपसभामुखलाई पनि भनेँ मेसेज गरेर । हिजो पुलिसलाई बयान दिएँ के के भको भनेर । तैंले पिटेका ठाउँ ठाउँका निलडाम मेरो औंला भाँचिने गरी बटारेको सुन्निएको सबै मोबाइलमा रेकर्ड गरेर लगेको छ । पम्फालाई म्यासेज गरें । गर्न सक्ने सबै गर्छु, तँलाई बचाएर के काम अब ?’ त्यसको लगत्तै उनले ‘तँ न माफीको लायक भइस्, न मायाको लायक ।’ भन्दै अर्को मेसेज पनि गरेकी छिन् ।
महरा प्रकरणको २४ घण्टा
आइतबार राति ९ः३० बजे पीडितद्वारा १०० मा फोन
राति ९ः१९ बजे महानगरीय प्रहरी बृत्त वानेश्वरको टोली घटनास्थलमा
सोमबार बिहान ७ बजे गृहमन्त्री रामबहादुर थापा र आईजीपी सर्वेन्द्र खनालबीच छलफल
साँझ ७ः३० बजे पीडितको आरोप अनलाइनद्वारा सार्वजनिक
मंगलबार ७ बजे नाराणकाजी श्रेष्ठ र महराबीच महरा निवासमा भेट
बिहान ८ बजे प्रचण्ड र महराबीच भेटवार्ता
बिहान ९ः ३० बजे प्रहरी परिसर काठमाडौंको टोलीद्वारा प्रमाण संकलन, पीडितसँग छलफल
डीएसपी कृष्णबहादुर चन्द्रको नेतृत्वमा अनौपचारिक अनुसन्धान सुरु
बिहान १० बजे प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच भेट
बिहान ११ बजे नेकपा सचिवालय बैठक, राजीनामा दिन सुझाव
दिउँसो १ः१० बजे महराद्वारा राजीनामा
दिउँसो २ः१५ बजे गृहमन्त्री आईजीपी भेट
साँझ ७ः५ पीडित भनिएकी महिलाको बयान फेरियो, लगत्तै महरा महिलाबीचकाे भाइबर संवाद सार्वजनिक