काठमाडौं – नेपाली कांग्रेसनिकट पत्रकार संगठन प्रेस युनियनले आफ्ना महासचिव अजयबाबु शिवाकोटीलाई सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपसम्बन्धी समाचार प्रकाशित गरेपछि महासचिव शिवाकोटीमाथि सुरक्षा चुनौती रहेको ठहर प्रेस युनियनले गरेको छ ।
'आकस्मिक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरू आउने क्रम शुरू भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ,' युनियनका अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकबमोजिम स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौं ।'
शिवाकोटी सम्पादक रहेको अनलाइन हाम्राकुरा डटकमले उनकै बाइलाइनमा महरामाथिको आरोप सम्बन्धमा पहिलोपटक समाचार प्रकाशित गरेको थियो ।
हेर्नुहोस्, विज्ञप्ति :
प्रेस विज्ञप्ति
हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीमाथि सुरक्षा चुनौती देखिएको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यस सम्बन्धमा नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको आज बसेको आकस्मिक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौ ।
समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गर्दर्छाैं । कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपुर्ण छ । स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो । यस तर्फ सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेसमाथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छ ।
बद्री सिग्देल
अध्यक्ष