
काठमाडौं – प्रतिनिधि सभाको सभामुख पदबाट मंगलवार राजीनामा दिएका कृष्णबहादुर महराले सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरेका छन् ।
महराको राजीनामा संसद् सचिवालयले बुधवार सूचना पत्रमा प्रकाशित गरेपछि उनी औपचारिक रूपमा पदमुक्त भइसकेका छन् ।
महराले बिहीवार गाडी र पीएसओ सहितका सुरक्षाकर्मी फिर्ता गरेको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले लोकान्तरलाई जानकारी दिए ।
क्वार्टर छाड्न डेरा खोजी !
महरा अहिले बालुवाटारस्थित सभामुखको सरकारी निवासमा नै छन् । त्यहाँबाट सर्नका लागि डेरा खोजी भइरहेको महरा निकट स्रोतले लोकान्तरलाई जानकारी दियो ।
'उहाँ (महरा) का लागि उपर्युक्त घर खोजी भइरहेको छ,' स्रोतले लोकान्तरसँग भन्यो ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुझावबमोजिम महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
महरामाथि आरोप लगाउने रोशनी शाही नामकी ती महिलाले अहिले भने कुरा फेरिसकेकी छन् । महराले आफूलाई कुनै दुर्व्यवहार नगरेको भन्दै उनले प्रहरीमा निवेदन समेत दिइसकेकी छन् ।
शुरूमा तिनै महिलाले महरामाथि आरोप लगाएकी थिइन् ।