
महराद्वारा सुरक्षाकर्मी र गाडी फिर्ता
प्रतिनिधि सभाको सभामुख पदबाट मंगलवार राजीनामा दिएका कृष्णबहादुर महराले सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरेका छन् ।
महराको राजीनामा संसद् सचिवालयले बुधवार सूचना पत्रमा प्रकाशित गरेपछि उनी औपचारिक रूपमा पदमुक्त भइसकेका छन् ।
महराले बिहीवार गाडी र पीएसओ सहितका सुरक्षाकर्मी फिर्ता गरेको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।
महरा अहिले बालुवाटारस्थित सभामुखको सरकारी निवासमा नै छन् । त्यहाँबाट सर्नका लागि डेरा खोजी भइरहेको महरा निकट स्रोतले लोकान्तरलाई जानकारी दियो ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुझावबमोजिम महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।
महरामाथि आरोप लगाउने रोशनी शाही नामकी ती महिलाले अहिले भने कुरा फेरिसकेकी छन् । महराले आफूलाई कुनै दुव्र्यवहार नगरेको भन्दै उनले प्रहरीमा निवेदन समेत दिइसकेकी छन् ।
शुरूमा तिनै महिलाले महरामाथि आरोप लगाएकी थिइन् ।
गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उनले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।
बलात्कार गरी हत्या
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको हो ।
उनले मृतक युवती शर्मिला दनुवारको मुख र घाँटी बाँधिएको, दुईटै आँखामा नीलडाम भएको, शरीरको विभिन्न भागमा चोटपटक लागेको तथा योनीबाट अत्यधिक रक्तश्राव भएको अवस्थामा शव फेला परेकोले उनको बलात्कार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।
नेप्से परिसूचक बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो लागेको छ । बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन बिहीबार ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक पनि २.१९ विन्दुले बढेर २५१.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकममा भने अपेक्षित वृद्धि हुन सकेन । कूल १५३ कम्पनीको ६ लाख ४७ हजार ५६२ कित्ता शेयर रु १७ करोड ६६ लाख ३३ हजार ५१४ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये बिहीबार १० उपसमूहको शेयर उकालो लागेको छ भने एक उपसमूहको मात्रै शेयर घटेको छ । वित्त उपसमूहको शेयर ३.२८ विन्दुले घटेको छ । बैंकिङ ६.१५, होटल २२.४६, विकास बैंक १३.०४, जलविद्युत् ७.६८, निर्जीवन बीमा ३९.८, उत्पादन ८३.१५, अन्य १.२९, लघुवित्त १४.२४, जीवन बीमा ४९.५१ र सामूहिक लगानी कोष ०.०२ विन्दुले बढेको छ ।
कारोबारका आधारमा बिहीबार सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो होटलको रु तीन करोड १३ लाख ९९ हजार २०० मा कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै सिद्धार्थ बैंकको रु एक करोड ५५ लाख ५९ हजार ७२९, शिवम सिमेन्ट रु ९२ लाख १३ हजार ६४५, प्रभु बैंक रु ७९ लाख ८० हजार ८७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु ४७ लाख १८ हजार ६०७ र एभरेष्ट बैंक लिमिटेडको रु ४६ लाख २० हजार ६९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
नेपाल भ्रमण वर्षमा नेपाली सेना
नेपाली सेनाले नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा विभिन्न कार्यक्रम गरी मुलुकको पर्यटन प्रवद्र्धनका लागि साहसिक एवं पर्यटकीय गतिविधि सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले लक्ष्य प्राप्तिमा सहयोग पु¥याउन विदेशी पर्यटकको सहभागिता हुने गरी प्रतियोगितात्मक साहसिक खेलकूदका कार्यक्रमका साथै पर्यटकीय गतिविधि सञ्चालन गर्न लागेको नेपाली सेनाले जनाएको छ ।
भ्रमण वर्षका अवसरमा साहसिक खेल, म्याराथन दौड, जङ्गल सफारी, हिमाली पदयात्रा, बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहणलगायत नौ वटा कार्यक्रम आयोजना गर्न लागिएको सेनाले बिहीबार काठमाडौँमा एक कार्यक्रममार्फत जानकारी दिएको छ ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत सरकारी अधिकारी, विभिन्न राजदूतावासका प्रतिनिधि तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा सेनाले भ्रमण वर्षका अवसरमा आयोजना हुने कार्यक्रमबारे जानकारी गराएको हो ।
लागुऔषधसहित सामाखुशी र कलङ्कीबाट पाँच पक्राउ
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध मेथ एम्फेटामाइनसहित पोखराका भुवन अधिकारी, पर्साका हाफिज नसिम अख्तर तेली, तनहुँका रजिया खातुम, पर्साका महमद शहीद अख्तर र भारतका जोसाङ लियानालाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले लागुऔषध बेचबिखन गर्न लागेको अवस्थामा अधिकारी र तेलीलाई सामाखुशी र खातुम, अख्तर र लियानालाई कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए ।
पचास कैदी स्थानान्तरण
कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै यहाँको कार्यालयबाट कैदी स्थानान्तरण गरिएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कार्यालयमा रहेका विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका ५० जनालाई स्थानान्तरण गरी हेटौँडाको भीमफेदीमा पठाइएको हो ।
कारागार व्यवस्थापन विभागसँगको सहकार्यमा कारागार कार्यालयबाट स्थानान्तरण गरी भीमफेदीमा पठाइएको हो । स्थानान्तरण गरिएकामा लागुऔषध मुद्दाका २४, जबरजस्ती करणीका ११, सवारी ज्यान मुद्दाका छ, ज्यान मार्ने उद्योगका दुई, चोरी मुद्दाका तीन, बहुविवाहका एक, हाहतियार मुद्दाका एक, कर्तव्य ज्यान मुद्दाका एक र जीउ मास्ने बेच्ने मुद्दाका एक जना रहेका छन् ।
जिल्लामा औषधि उपचारका लागि पठाइने बिरामी कैदीबन्दी र नवलपुरमा कारागार नहुँदा त्यहाँबाट आएका कैदीबन्दीका कारण दिनहुँ चाप बढ्दै गएको छ । हेटौँडामा महिला बन्दीगृह नहुँदा यहाँको कारागारमा महिला कैदी तथा बन्दीहरुको चाप पनि बढ्दै गएको प्रमुख काफ्लेको भनाइ छ । दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको भरतपुर कारागारमा स्थानान्तरणपछि ७६२ कैदीबन्दी छन् । तीमध्ये ६८ महिला र ६९१ पुरुष कैदीबन्दी हुन् । कारागारमा आमासँगै तीन नाबालक रहेका छन् । कारागार साँघुरो भएपछि स्थानान्तरणका लागि ठाउँ खोजी भइरहेको छ ।
टेलिकमको फोरजी सेवा ३७ जिल्लामा
नेपाल टेलिकमले फोरजी एलटिइ सेवालाई विस्तार गर्दै ३७ जिल्लामा पु¥याएको छ । काठमाडौँ र पोखरामा २०७३ पुस १७ गतेदेखि सो सेवा शुरु गरेको टेलिकमले बुधबारमात्र विभिन्न ३२ जिल्लाका ५० बढी शहरमा फोरजी सेवा उपलब्ध गराएको थियो । बिहीबार थप पाँच जिल्लाका ६० शहरमा फोरजी सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता प्रतीभा वैद्यले जानकारी दिइन् ।
सातै प्रदेशका प्रमुख शहरमा सो सेवा सञ्चालनमा आएको छ । प्रदेश नं १ को धनकुटा, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ को बारा, पर्सा, रौतहट, महोत्तरी, सप्तरी, सिरहा धनुषा र सर्लाही, प्रदेश नं ३ को चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा र सिन्धुली रहेका छन् ।
त्यस्तै गण्डकी प्रदेशको बागलुङ, म्याग्दी, तनहुँ, मुस्ताङ र लमजुङ, प्रदेश नं ५ को कपिलवस्तु, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही, बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा फोरजी सेवा सञ्चालनमा आएका छन् । ३७ जिल्लाका ६० शहरका उपभोक्ताले फोरजी सेवा उपभोग गर्न पाउनेछन् । भीमदत्तनगर, झलारी पिप्लाडी, अत्तरिया, धनगढी, चौमाला, मसुरिया, सुख्खड, लम्की, टिकापुर, सुर्खेत, गुलरिया, कोहलपुर, नेपालगञ्ज, घोराही, लमही र तुलसीपुरमा फोरजी सेवा सञ्चालनमा आएको छ ।
बेनी, कुस्मा, बागलुङ, तानसेन, लुम्बिनी, भैरहवा, मङ्गलापुर, बुटवल, मुर्गिया, सुनवल, देवदह, परासी, बर्दघाट, भरतपुर, टाँडी, सौराहा, धादिङ, बिदुर, धुञ्चे, बनेपा, धुलिखेल, पनौती, हेटौंडा, सिमरा, वीरगञ्ज र कलैयामा पनि सेवा शुरु भएको छ ।
चरिकोट, मन्थली, सिन्धुलीमाडी, गौर, मलङ्गवा, जलेश्वर, जनकपुर, धनकुटा, धरान, इटहरी, इनरुवा, विराटनगर, दमक, विर्तामोड, चन्द्रगढी, बेंशीशहर, भारदह र बस्तिपुरमा फोरजी सेवा सञ्चालनमा आएको टेलिकमले जनाएकोछ ।
टेलिकमले सञ्चालनमा ल्याएको फोरजी एलटीइ सेवा नेपालमा पहिलोपटक शुभारम्भ भएको अत्यन्त तीव्र गतिको वायरलेस प्रविधि हो । नेपाल सरकारद्वारा पहिचान गरेको रुपान्तरणकारी आयोजनामध्ये नेपाल टेलिकमको यो आयोजना पनि प्रमुख रहेको छ ।
डुबेर दुई किशोरीको मृत्यु
दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।
लमही नगरपालिका–९ स्थित सिमलसोता खोलामा बिहीबार पौडी खेल्ने क्रममा लमही– ९ बाङ्गेतालका १४ वर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका–१० नारायणपुरका १५ वर्षीया निरु बोहराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । दुवै जनाको उपचारका लागि लमही अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
बढी भाडा असुल्ने ११ जना पक्राउ
नेपाल प्रहरीले चाडबाडका बेलामा बढी भाडा असुल्ने ११ जनालाई पक्राउ गरी कारवाही गरेको छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले टिकट काउन्टर अनुगमनका क्रममा बढी भाडा लिएर टिकट काट्ने कार्यमा संलग्न उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउपर्नेमा दिनेश राउत, धनिन्द्र राई, राजु केसी, रविन बस्नेत, साजन श्रेष्ठ, प्रकाश मगर, टेकेन्द्र राई, अन्जन तामाङ, डेकेन्द्र राई, पूर्णप्रसाद शिवाकोटी र वीरबहादुर चौलागाईं रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोटेश्वर र चाबहिलबाट बढी भाडा लिएर टिकट काट्ने विचौलियालाई समेत पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला र प्रभाग कोटेश्वरलाई बुझाइएको महाशाखाले जनाएको छ । महाशाखाले यसअघि बढी भाडा असुल्ने नौ जनालाई पक्राउ गरी कारवाही गरिसकेको छ ।