
काठमाडौं – बिहीवार उत्तर कोरियाले आधिकारिक बयान जारी गरेर अन्डरवाटर ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जानकारी दिएको छ ।
उसले क्षेप्यास्त्र परीक्षण गरेर अमेरिकामाथि दबाब दिन खोजेको बताइएको छ । दुवै देशबीच हालै बैठक बस्ने विषयमा सहमति बनेको थियो ।
उत्तरले गरेको सबमरिन लोन्च्ड ब्यालिस्टिक मिसाइलको सफल परीक्षणले उसको शक्ति देखिएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सीको रिपोर्टमा बताइएअनुसार, एकेडमी अफ डिफेन्स साइन्सले पुकगुकसोङ–३ नामक नयाँ किसिमको ब्यालिस्टिक क्षेप्यास्त्रलाई भर्टिकल मोडमा वोनसान खाडीमा परीक्षण गरिएको हो ।
उत्तर कोरियाको यो क्षेप्यास्त्रले पानीभित्रबाट लगभग ५०० किलोमिटर टाढासम्म विनाश मच्चाउन सक्छ । यसलाई सटीकताका साथ प्रक्षेपण गर्दा १५ सय किलोमिटरसम्म पुर्याउन सकिन्छ ।
क्षेप्यास्त्र परीक्षण गरिँदा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन उपस्थित थिएनन् । यसअघिका कैयौं परीक्षणमा उनी उपस्थित रहन्थे ।
किमले क्षेप्यास्त्र निर्माणमा संलग्न वैज्ञानिकहरूलाई वर्कर्स पार्टी अफ कोरियाको सेन्ट्रल कमिटीका तर्फबाट बधाई सन्देश पठाएका छन् ।
आधिकारिक बयानमा प्रक्षेपणको सफलता निकै महत्त्वपूर्ण भएको किनकि उत्तर कोरियालाई बाहिरी शक्तिहरूको जोखिबाट रोक्न र आत्मरक्षाका लागि सैन्यशक्ति बढाउनमा अर्को एक चरणको आरम्भ भएको लेखिएको छ ।
एजेन्सी