१७ असार २०८३, बुधबार
दशैंको रौनक

दैनिक २० हजारले जन्मभूमि टेक्दै : सीमामा सहज, बाटैभरि सास्ती

असोज १७, २०७६
दैनिक २० हजारले जन्मभूमि टेक्दै : सीमामा सहज, बाटैभरि सास्ती

धनगढी – दशैंको उल्लास छाएसँगै कामको शिलशिलामा भारत पसेका नेपालीहरू फर्किने क्रम बढेको छ ।

मुलुकको अन्य सीमा नाकामा जस्तै कैलालीको त्रिनगर भन्सार नाका हुँदै भारत बसेका सुदूरपश्चिमेली फर्किने क्रम निकै बढेको हो ।

भारतबाट फर्किने नेपालीले विगतमा जस्तो चालू वर्षमा सीमा नाकामा सहज वातावरण भएको बताएका छन् । विगतको वर्षमा भारतीय प्रहरीबाट चेकजाँचको नाममा लुटिने समस्या भएपनि यो वर्ष सहज रुपमा फर्किएको बताएका हुन् ।

दशैं मनाउन भनी भारतको जम्मुबाट फर्किएकी कैलालीको गोदावरी नगरपालिकाको मालाखेतीकी मुनादेवी राउत पनि परिवारसँगै घर फर्किएकी छिन् । उनले विगतका वर्षमा चेकजाँचको नाममा भारतीय प्रहरीले धेरै दुःख दिएको स्मरण गरिन् तर चालू वर्षमा सहज रुपमा फर्किन पाएको बताइन् ।

भारतबाट फर्किने नेपालीलाई लक्षित गर्दै सीमा नाकामा २ देशीय संयुक्त सहायता कक्ष स्थापना गरिएको छ । कैलालीको त्रिनगर भन्सार नाकामा स्थापना गरिएको सहायता कक्षमा नेपालको तर्फबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) बस्दै आएको छ ।

सशस्त्र प्रहरीका सई राजेन्द्रबहादुर सिंहले संयुक्त सहायता कक्ष स्थापना गरिएयता हालसम्म सीमानाका समस्या तथा सास्तीबारे घटना सुन्नमा नआएको जानकारी दिए । सहायता कक्षमार्फत आफूहरूको रोहबरमा भारतीय पक्षबाट चेकजाँच हुँदै आएको सई सिंहले बताए ।

उनका अनुसार त्रिनगर नाका हुँदै दैनिक २०/२५ हजार नेपाली घर फर्किंदै आएका छन् । बिहान ५ बजेदेखि राति ८ बजेसम्म आउने क्रम जारी रहने जनाइएको छ । 

एसएसबीको गौरीफन्टा चेकपोस्टका प्रहरी निरीक्षक निरजकुमार सिंहले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै फर्किने नेपालीको सामान चेकजाँच गर्दै आएको बताए तर कुनै पनि नेपालीबाट असूली हुन नदिनतर्फ सजग रहेको उनले बताए ।

भारतबाट फर्किने नेपालीलाई विगतको वर्षमा जस्तो सीमा नाकामा समस्या नभएपनि भारतकै विभिन्न स्थानमा सास्ती पाउँदै आएका छन् । २ वर्ष भारत बसेर दशैं मनाउन घर फर्किरहेका डोटी जिल्लाको आदर्श गाउँपालिका–६ का किरणबहादुर बिष्टले सीमा नाकामा समस्या नभएपनि भारतको विभिन्न स्थानमा सास्ती खेप्नुपरेको बताए ।

‘भारतको दिल्लीबाट सोझै धनगढी पुर्‍याइदिने भन्दै बसवालाले भाडा लियो । आफ्नो भिजिटिङ कार्ड पनि दियो तर भारतकै आनन्द बिहारमै छोडियो । पुनः अर्को बस बूक गरेर फर्किंयौं,’ उनले भने । डोटीको आदर्श गाउँपालिका–६ का शेरबहादुर कार्कीले भारतको विभिन्न स्थानमा नेपालीलाई हेरीहेरी चेकजाँच हुने गरेको बताए ।

जिल्ला प्रशासन कार्यालय कैलालीले भारतबाट घर फर्किंदै गरेका नेपालीलाई सीमामा सास्ती नहोस् भन्नका लागि त्रिनगर नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरेको हो । नेपालीलाई घर फर्किंदा सीमामा कुनै पनि समस्या नहोस् भन्नका लागि सहायता कक्ष स्थापना गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

कामको शिलशिलामा परिवारजनबाट टाढिएकाहरू धमाधम फर्किन थालेपछि दशैंको उल्लाह बढेको छ । गाउँघर, शहर बजारमा दशैंको रौनकता बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्