
काठमाडौं – चीनमा मंगलवार राष्ट्रिय दिवसका उपलक्ष्यमा गरिएको सैन्य परेडका क्रममा आकाशमा रहस्यमय वस्तु देखिएपछि विमानको ढोका खुस्केर झरेको अनुमान गरिएको छ ।
सामाजिक सञ्जालमा चलिरहेको सानो क्लिपमा अज्ञात वस्तु तीव्र गतिमा आकाशमा चलिरहेको देखिन्छ । त्यतिखेर तियानानमेन स्क्वेयरमाथि आठवटा विमान उडिरहेका थिए ।
बेइजिङले भिडियोमा देखिएको वस्तु ड्रोन भएको दाबी गरेको छ । त्यसअघि चाहिँ वायुसेनाका कमान्डर रहेको एक युद्धविमान टुक्रिएको हल्ला चलेको थियो ।
चीनले आफ्नो अत्याधुनिक हतियार मंगलवार संसारलाई देखाएपछि १५ सेकेन्डको भिडियो अन्लाइनमा आएको थियो ।
मंगलवारको सैन्य परेड चीनको इतिहासकै सबभन्दा ठूलो हो । त्यसलाई सम्पन्न गर्नका लागि साढे २१ अर्ब युआन खर्च गरिएको बताइएको छ । चीनमा कम्युनिस्ट शासन शुरू भएको ७० औं वर्षगाँठ मनाउन सैन्य परेड आयोजन गरिएको थियो ।
आकाशमा देखिएको वस्तु केजे–२००० विमानको ढोका भएको र उक्त विमानमा वायुसेना कमान्डर डिङ लाइहाङ रहेको हल्ला चलाइएको थियो ।
चीनको जनमुक्ति सेनाको वायुसेनाले इन्टरनेटमा चलेको हल्लाको खण्डन गरेको छ ।
सामाजिक सञ्जालमा एउटा बयान दिँदै सेनाले ढोका भनिएको वस्तु मानवरहित विमान भएको र क्यामराका रूपमा त्यसको उपयोग गरिएको बतायो ।
विमानहरूको उड्डयन प्रदर्शन सफल रहेको र कुनै पनि विमानमा क्षति नपुगेको उसको अडान छ ।
एजेन्सी