०८ साउन २०८३, शुक्रबार

हिजो दिनभर : यस्ता छन् १५ प्रमुख समाचार

हिजो दिनभर : यस्ता छन् १५ प्रमुख समाचार

टीकाका दिन सेनाको निःशुल्क बस सेवा
दशैँको टीकाका दिन नेपाली सेनाले उपत्यकाको विभिन्न सात रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । 

    टीकाका दिन काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधन न्यून मात्र सञ्चालन हुने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले बस सेवा सञ्चालन गर्न लागिएको हो । सो दिन सेनाले विभिन्न सात रुटमा बस सञ्चालन गर्नेछ । सेनाका बस बिहान, दिउँसो र साँझ सञ्चालनमा आउनेछन् । 

    सेनाका मुख्यालय भद्रकालीलाई केन्द्र मानेर ती बस सञ्चालन हुनेछन् । बिहान ८ देखि १०ः३०, दिउँसो १ देखि ३ र साँझ ४ बजेदेखि ६ बजेसम्म निःशुल्क बस सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ । भद्रकाली–कालिमाटी–कलङ्की–नागढुङ्गा, भद्रकाली–बल्खु–कीर्तिपुर,भद्रकाली–बानेश्वर–काटेश्वर–गठ्ठाघार–सूर्यविनायक र भद्रकाली–लैनचौर–महाराजगञ्ज–बूढानीलकण्ठसम्म सेनाका बस चल्नेछन् । 

    त्यस्तै भद्रकाली–चाबहिल–जोरपाटी–थली–साँखु, भद्रकाली–बानेश्वर–कोटेश्वर–सातदोबाटो–कलङ्की–सीतापाइला–बालाजु–महाराजगन्ज–चाबहिल–गौशाला एयरपोर्ट–तिनकुने–भद्रकाली (चक्रपथ) र भद्रकाली–बानेश्वर–तिनकुने–एयरपोर्ट–गौशाला–चाबहिल–महाराजगञ्ज–बालाजु–सितापाइला–कलङ्की–सातदोबाटो–कोटेश्वर–बानेश्वर हुँदै भद्रकाली (चक्रपथ) रुटमा सेनाको बस चल्नेछन् । यस्तै सशस्त्र प्रहरीले पनि नवमी, दशमी र एकादशीको दिन निशुल्क बस सञ्चालन गर्ने जनाएको छ । 

राष्ट्रपतिले इच्छुकलाई टीका प्रदान गर्ने

    राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका दिन टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका प्रदान गर्ने भएकी छिन् । 

    राष्ट्रपतिले सो दिन अपराह्न १ देखि २ बजेसम्म टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तित्व तथा अपराह्न २ः३० देखि ३ः३० सम्म अन्य व्यक्तिलाई टीका प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
    
    टीकाको दिन राष्ट्रपति निवास शीतलनिवासको गेट नं १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । 

दशैँ बिदामा पनि रक्तसञ्चार सेवा नियमित
नेपाल रेडक्रस सोसाइटीद्वारा प्रदान गर्ने सेवा दशैँका बिदाको दिन पनि निरन्तर सञ्चालनमा आउने भएका छन् । 

    सो अवधिमा विपद्को घटनाको व्यवस्थापन गर्न केन्द्रीयस्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा टोली सक्रिय रहने रेडक्रसले जनाएको छ । 
    
    यसैगरी रक्तसञ्चार सेवा पनि नियमित रूपमै सञ्चालनमा आउनेछ । रक्त सञ्चार केन्द्रमा दैनिक छ जनाले ‘ड्यूटी’ गर्ने व्यवस्था मिलाइएको छ । रक्त सञ्चार केन्द्रमा एक हजार २०० यूनिट रगत मौज्दात राखिएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । आपतकालीन अवस्था आइपरे आकस्मिक रक्तदान आयोजना गर्न सकिने रेडक्रसले जनाएको छ । 

दुई प्रहरी घुससहित पक्राउ

 अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरीलाई शुक्रबार घुससहित पक्राउ गरेको छ । 

    भारतबाट माल सामान ल्याउने क्रममा भन्सार शुल्क तिरिसकेपश्चात् पनि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिइएको आयोगको टोलीले उनीहरूलाई सेवाग्राहीबाट लिएको रु २० हजार घुससहित नियन्त्रणमा लिएको हो । घुस रकमसहित उनीहरूलाई भजनी नगरपालिका–१ स्थित वेलकम कटेज नजिकैबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

विप्लव समूहका नेताद्वारा आत्मसमर्पण

नेत्र विक्रम चन्द, विप्लव समूहका महोत्तरी जिल्ला इन्चार्जसहित दुई जनाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् । 

आत्मसमर्पण गर्नेमा विप्लव समूहका जिल्ला इन्चार्ज बर्दिबास नगरपालिका–२ का ३८ वर्षीय रूपेश भन्ने रुकबहादुर कार्की र जिल्ला सेक्रेटरी गौशाला नगरपालिका–८ कुशमारी बैलवासका ४६ वर्षीय भीमबहादुर आले रहेका छन् । 
विप्लव समूह परित्याग गरेका दुवै जना शुक्रबार साँझ नै सरकारको नेतृत्व गर्ने नेकपा पार्टीमा प्रवेश गरेका छन् । 
    
एकल पुरुषले पनि मासिक भत्ता पाउने

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक रु ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो । 

    गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हँुदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । 

    महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले रु २० लाख बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ । 

अनुगमनका क्रममा कुहिएको मासु नष्ट

भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । शुक्रबार नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्डसमेत नपु¥याई सञ्चालन गरेको पाइएको छ । 

अनुगमनमा हरिकृष्ण खड्गीले राँगाको मासु पसल पटक पटक गरेको  अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र बिग्रेको मासु राखिराखेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।  टोलीले उक्त पसलबाट कुहिएको र सडेको मासु नष्ट गरेको, फ्रिज सफा गर्न, पसल सरसफाइ गरी व्यवस्थित गर्न, मासु धुलो र झिँगा नभन्किने गरी जालीले छोपेर राख्न, बासी र बिग्रेको मासु नबेच्न, एप्रोन सेतो अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ । 

मानव अधिकार आयोग पर्व बिदामा खुला रहने

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू आगामी दशैँ, तिहार तथा छठ बिदाका दिनमा दिउँसो ११ः०० देखि २ः०० बजेसम्म खुला रहने भएका छन् ।

आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको आयोगका सचिव वेद भट्टराईले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगले पर्वका अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।

दुई दिनमा चार लाख ५० हजारले राजधानी छाडे

दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् । 

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि शुक्रबार बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिए ।  यो बीचमा झण्डै सात लाख यात्रुु राजधानी भित्रिएका पौडेलले बताए । 

दशैँमा इन्धनको अभाव हुँदैनः निगम

    नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ । 

    पेट्रोलियम पदार्थको आयात नियमितरूपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ । फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारीसाधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानकोटस्थित डिपोले शुक्रबार उपत्यकामा झण्डै २० लाख लिटर पेट्रोलियम पदार्थ वितरण गरेको छ । 

    थानकोट डिपोबाट शुक्रबार ११ लाख ५० हजार लिटर पेट्रोल र आठ लाख ५० हजार लिटर डिजेल विभिन्न पेट्रोल पम्पलाई पठाइएको डिपोका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।  

प्रहरी निरीक्षकमाथि चोरीको आरोप 

धनुषामा एक प्रहरी निरीक्षकमाथि चोरी गरेको आरोप लागेको छ । 

    धनुषाको मिथिला नगरपालिकास्थित इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझामाथि स्काभेटरको पार्टपुर्जा चोरी गरेको आरोप लागेको हो । जङ्गलको जग्गामा पोखरी खनेर क्षति पु¥याएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरीयाभित्र स्थानबाट स्काभेटर नियन्त्रणमा लिएर गत फागुनमा प्रहरीलाई बुझाएको थियो । केही दिनपछि स्काभेटर धनी जनुलाल महतो इलाका प्रहरी कार्यालय ढल्केबर पुग्दा स्काभेटरको पार्टपुर्जा निकालिएको पाएका थिए । 

    स्काभेटर धनी महतोले बालुवा वासिङ उद्योगीसँग मिलेर प्रहरीले रु छ लाख मूल्य बराबरको पार्टपुर्जा बिक्री गरेको दाबी गर्दै प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी प्राप्त भएपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक ओझालाई ढल्केबरबाट प्रदेश प्रहरी गणमा तानेर छानबिन अगाडि बढाएको छ । 

    घटनाको छानबिन गर्न प्रहरी उपरीक्षक उमाशङ्कर पंजियारको संयोकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले बिहीबार घटनाको अनुसन्धान प्रतिवेदन प्रदेश प्रहरी नायब महानिरीक्षक प्रद्युम्नकुमार कार्कीलाई बुझाइसकेको बताइएको छ । पाटपुर्जा चोरीको घटनामा प्रहरी निरीक्षक ओझा दोषी देखिएको ठहर गरी उनलाई विभागीय कारवाही गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।    

प्रतिवेदनमा उनी दोषी देखिए हदैसम्मको कारवाही हुने प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । 

कालीगण्डकी कोरिडोरलाई विद्युत् प्राधिकरणको अवरोध
चीनको कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोरको सडक सीमालाई नेपाल विद्युत् प्राधिकरणले अवरोध गरेको छ ।  

    प्राधिकरणको कालीगण्डकी प्रसारण आयोजनाले म्याग्दीस्थित नारच्याङको सडकमै प्रसारण लाइनको फाउन्डेशन निर्माण गरेको छ । पटकपटक सडकको सीमा क्षेत्र खाली गर्न पत्राचार गरे पनि प्राधिकरणले नटेर्दा काममा बाधा पुगेको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख मुकुन्दराज अधिकारीले बताए । 
 
    प्रसारण लाइनको फाउन्डेशन बनाउने अरु ठाउँ भए पनि प्राधिकरणले सडकको काम रोक्ने उद्देश्यले काम गरिरहेको देखिन्छ । म्याग्दीको तातोपानीस्थित घरप क्षेत्रको सडकमा रहेका पोल नसारेरसमेत प्राधिकरणले सडक निर्माणमा अप्ठ्यारो बनाएको छ । यस क्षेत्रको विद्युत् व्यवस्थापनको जिम्मेवारी स्थानीय उपभोक्ता समितिलाई दिइएको छ । 

नवरात्रको छैटौँ दिन कात्यायनी देवीको आराधना

दुर्गा पक्षको छैटौँ दिन शुक्रबार कात्यायनी देवीको पूजा आराधना गरिएको छ । 

    यो पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रूपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विशेष पूजा आराधना हुने गर्छ । 

    यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रूपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट जमरा र रातो टीका लगाइन्छ । 

    दशैँको महत्वपूर्ण दिन विजया दशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रूपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका लगाउँछन् । 

चाँदीसहित भारतीय युवक पक्राउ

    महोत्तरी जिल्लाको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन् ।
    
    पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नं १ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । 
    
    युवक साह ज१२प ७३३ नंको मोटरसाइकलमा चढी जलेश्वरबाट भिठ्ठामोडतर्फ जाँदै गर्दा जलेश्वर नपा–२ स्थित खैराचोकमा खटिएका नेपाल प्रहरीको टोलीलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट १० किलो ९०० ग्राम चाँदी बरामद भएको प्रहरी उपरीक्षक अधिकारीले बताए । यसैबीच राजधानीको सुकेधाराबाट पनि नक्क्ली ११ किलो चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  

१७ दिने धार्मिक यात्रा

शिख गुरु नानकको ५५० औँ जन्मजयन्तीका अवसरमा पशुपतिबाट पञ्जावसम्मको धार्मिक यात्रा शुरु भएको छ ।
 
    यात्रा पशुपतिस्थित निर्मल अखडाबाट पञ्जाबको सुल्तानपुरस्थित लोभीसम्म गरिने छ । श्री गुरुनानकदेव सेवा सोसाइटी क्यालिफोर्निया अमेरिका र संस्थापक अध्यक्ष मञ्जीवसिंह खाल्साको सक्रियतामा १७ दिने यात्रा शुरु गरिएको हो । यात्रामा भजनकीर्तनसहित भक्ति सङ्गीत गरिने निर्मल अखडाका स्वामी गोकुलानन्द वेदान्ताचार्यले जानकारी दिए । 
 
    यात्रा शुरु गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षमा धार्मिक पर्यटक भित्र्याउन शिख समुदायको समेत विशेष भूमिका हुने बताए ।  पशुपतिबाट पञ्जाबसम्म हुने यात्राले तीन महिनापछिको भ्रमण वर्ष प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

    नेपालमा गुरु नानकका छ वटा पीठ छन् । पशुपतिमा निर्मल र भष्मेश्वर अखडा, गुरुनानक मठ बालाजु, शोभाभगवती, थापावथली र ज्ञानेश्वरमा पनि पीठ रहेको स्वामी गोकुलानन्दले बताए । 

salt training

कमेन्ट गर्नुहोस्