०३ साउन २०८३, आइतबार
स‌ंस्कृति

लोकसंस्कृति : सखियाभित्रको रहस्यलीला र दशैंको रौनकता

असोज १८, २०७६
लोकसंस्कृति : सखियाभित्रको रहस्यलीला र दशैंको रौनकता

धनगढी – कैलालीको कैलारी गाउँपालिका–३ उत्तरभर्री गाउँका स्थानीयले असोज ३ गते ट्रासन ठोके ।

गाउँको भलमन्सा छोटेलाल चौधरीको नेतृत्वमा धार्मिक अनुष्ठान तथा तान्त्रिक विधिमार्फत मादलको एक किसिमको विशेष ताल (खोट) बजाइ सखिया नाचको सुभारम्भ गरे । समरौटी (मड्डलाचरण) गाउदै यसरी नाचको सुभारम्भ गर्ने प्रलचनलाई नै थारु समुदाय ट्रासन ठोक्नु भनिन्छ ।

गाउँका बर्का गुरुवा (प्रमुख तान्त्रिक) र केसौका (सहायक तान्त्रिक)मार्फत देवीदेवताको पूूजा आराधना गरेपछि स्थानीयहरु आजभोलि दशैभरि नाचिने सखिया नाचको रिहल्सलमा जुटेका छन् ।

भलमन्सा चौधरीले भने, ‘जुनसुकै कार्य थालनी गर्दा निश्चित विधि र पद्धति हुन्छ । थारु समुदायमा सखिया नाचमा मात्रै होइन, अन्य सांस्कृतिक कार्यक्रम गर्दा समेत समरौटी गाउने र ट्रासन ठोक्ने कार्य गरिन्छ । आजभोलि नाचको धमाधम रिहल्सल जारी छ ।’

बेलुका भयो कि, ‘फटक ट्वाङ घरौना...२, ट्वाङ घरौना..२ लगायत ताल समेतिएको मादलको आवाज गुन्जिन थालेको छ आजभोलि । अनि सजिलै अनुमान लगाइन्छ, थारु वस्तीमा सखिया नाचको रिहल्सलको ।

दशैंको आगमन संगै कैलारी गाउँपालिकाको उत्तरभर्री गाउँमा मात्रै होइन । पश्चिम नेपालको प्रायः थारु बस्तीमा सखियाको रिहल्सलले रौनकता थपिएको छ ।

उसो त, थारु वस्तीमा दशैंभन्दा १ महिना अगाडीदेखि नै रात्रिको समयमा सखिया गीत र नाच सिकाउने गरिन्छ । मोरिन्या (गुरुमा) र पच्गुनिया (सहायक गुरुमा) मार्फत सो गीतिनृत्यको रुपमा रहेको सखिया नाच्ने र गाउने विधि र प्रक्रियाहरु सिकाइने गरिएको लोकसंस्कृति विद अशोक थारु बताउँछन् ।

यद्यपी, पछिल्लो समय समयको अनुकुलता र प्रतिकुलतालाई मध्येनजर गरी समय छोट्याएको पाइन्छ । सखिया नाचको रिहल्सलपछि दशैंको टीकाको दिन विशेष रुपमा नाच्ने गरिन्छ ।

कैलालीको भादा होम स्टे गाउँमा पनि सखियाको तयारी जारी राखिएको छ । साँझपख केही समय तयारी गरिन्दै आएको होम स्टे व्यवस्थापन समितिका अध्यक्ष एंव धनगढी उपमहानगरपालिका–१८ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए ।

उसो त भादा होम स्टे गाउँ भएकै कारण त्यहाँ दैनिक आउने पर्यटकहरुको मनोरञ्जनकै लागि भएपनि वर्षौमास सखिया नाचिदै आएको उनको भनाइ छ ।

लोक संस्कृति विद थारुका अनुसार दशैंको अवधिमा सखिया र पैंयाँ नाच विशेष रुपमा नाचिन्छ । नाच्नका लागि युवतीहरुको समूहमा १ जना अगुवा (मोरिन्या) रहने र मादल बजाउने युवाहरुमा पनि १ जना अगुवा हुन्छन् । यो नाचमा भगवान श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीत गाइन्छ ।

सखिया के हो?

सखिया शब्द ‘सखी + आ’ बाट बनेको हो । यसको अर्थ साथी वा संगिनी हो । यो शब्द कान्हा (कृष्ण) र राधा अथवा राधा र उनका संगिनीको सन्दर्भमा आएको हो ।

नेपाली लोकवार्ता तथा संस्कृति समाजबाट प्रकाशित थारु लोकवार्ता तथा लोकजीवन पुस्तकका अनुसार दशैंको खुसियालीमा संगिनीहरु आऊन्’ भन्ने अर्थमा ‘सखिया’को प्रयोग भएको हो ।

सखिया थारु लोकभागवत पुराण हो । दशैंमा थारु जातिका महिलाहरुले सामूहिक रुपमा गाइने काव्य कोटीमा पर्ने संस्कृति विद थारु बताउँछन् । जसको आरम्भ नै समरौटीबाट हुन्छ ।

डानु डाडा डानु री डाडा डानु. डरिउना भली र

सखी र डानु री डाडा डरीउना री कहिले

टोही मैं सामिरौं सरस्वती मैयाँ

सखी र सरस्वती मैयाँ स्यावा री मोरी लेओ

पैंयाँमा कृष्ण र गोपिनीको रसलीला

सो पुस्तकमा उल्लेख भएअनुसार दशैंको अवधीमा तथा सखिया नाचको बीच–बीचमा पैंयाँ नाच पनि नाचिन्छ । थारु भाषामा पैंयाँलाई ‘पैंयाँ लग्ना’ अर्थात पैंयाँको अर्थ पाउ लागी’ वा समर्पित हुनु हो । खासमा गोपिनी रुपी बठिनियाहरु (युवतीहरु) र कृष्ण रुपी मडर्‍या (मदाल बजाउने यूवा) एकअर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ ।

सो पुस्तकका लेखक समेत रहेका लोक संस्कृति विद थारु भन्छन्, ‘पैंयाँलाई कृष्ण र गोपिनीबीचको रसलीला झल्काउने चरणको रुपमा लिइन्छ । यो मुलतः गीतहिन सामूहिक नृत्य हो ।’

एनरी बाहाँस हो काटी कमवा सिटैबु

कमवा सिटैबु मै पिन्जला बनैबुँ

पिन्जला बनैबु मै सारी सुगा पलबु

वचनक बिनल पिन्जला कबु रे जिनी टुट

टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना

पुस्तकका अनुसार प्रस्तुत पैंयाँ गीतमा सारी–सुगा प्रेमपात्रका प्रतीकको रुपमा लिइएको छ । पिँजडा प्रेमको प्रतीक हो । गीतमा औंलो काटेर कलम बनाउने र रगतको मसीले प्रेमपत्र लेख्ने सन्दर्भ आएको छ ।

पछिल्लो समय पैँयाँलाई नाचलाई आधुनिकीकरण गरिएको पाइएको छ । यसलाई आधुनिक सखियाको नामले पनि चिनिन्छ । यसमा गाइने गीतहरु समेत आधुनिक ढंगले समेत रचना गरिएको थारु संस्कृतिका जानकारहरु बताउँछन् ।

त्यस्तै पैंयाँ २२ प्रकारको हुने भए पनि हाल मडर्‍याहरुले आफैं नयाँ सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएका छन् । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरु खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँहरुमा निकै भीड लाग्ने गरेको छ ।

यतिमात्रै होइन, सखियालाई आजभोलि सदाबहार नृत्यको रुपमा समेत लिने गरिएको छ । दशैंमा मात्रै सीमित नभई यो नृत्य बाहौंमा विभिन्न सभा, समारोह,महोत्सवहरुको प्रमुख शोभाको रुपमा प्रस्तुत हुँदै आएको छ । जसले गर्दा नृत्य व्यावसायिक समेत भएको भादा होम स्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्