
काठमाडौं – संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।
संघीय संसद् सचिवालयकी स्वास्थ्यकर्मी रोशनी शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा शनिबार किटानी जाहेरी दिएकी छन् । शाही स्वयं शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर महराविरुद्ध बलात्कार प्रयासको कसुरमा किटानी जाहेरी दिएकी हुन् । यससम्बन्धी थप कानुनी कारबाही प्रक्रिया आइतबारदेखि अगाडि बढाउने प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार यौन दुर्व्यवहारको घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा प्रहरी र पीडित रोशनीबीच भएको लामो छलफलपछि उजुरी दर्ता गरिएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ । सीसीटीभी फुटेजमा समेत महरा रोशनीको कोठामा देखिएको स्रोतले उल्लेख गरेको छ । ‘आइतबार अपराह्न ४ बजे महराले रोशनीसँग फोन सम्पर्क गरेका थिए । त्यसपछि उनी साँझ रोशनी कोठामा पुगे । उनी कोठामा गएदेखि निवासमा फर्किएसम्मका सबै सीसीटीभी फुटेज प्रहरीसँग सुरक्षित छ,’ प्रहरी स्रोतले भन्यो ।
किटानी जाहेरी शनिबार दर्ता भएकाले आइतबार अदालतको अनुमति लिएर महरामाथि थप अनुसन्धान प्रक्रिया सुरु गरिने प्रहरीले जानकारी दिएको छ । यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महराले सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए । महराको सांसद पद भने यथावत् छ ।
किटानी जाहेरीपछि प्रहरीले बलात्कार प्रयासको अभियोगमा छानबिन प्रक्रिया अगाडि बढाउन महरालाई सांसद पदबाट निलम्बन गर्न प्रतिनिधिसभाकी उपसभामुख (कार्यवाहक सभामुख) समक्ष लिखित आग्रह गर्ने भएको छ । बहालवाला सांसदलाई पक्राउ गर्नुअघि सभामुख या कार्यवाहक सभामुखलाई पूर्वजानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ ।
किटानी जाहेरीपछि प्रहरीले बलात्कार प्रयासको अभियोगमा छानबिन प्रक्रिया अगाडि बढाउन महरालाई सांसद पदबाट निलम्बन गर्न प्रतिनिधिसभाकी उपसभामुख (कार्यवाहक सभामुख) समक्ष लिखित आग्रह गर्ने भएको छ । बहालवाला सांसदलाई पक्राउ गर्नुअघि सभामुख या कार्यवाहक सभामुखलाई पूर्वजानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ ।
अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीले महरा र पीडित रोशनी तथा घटनास्थलबाट बरामद सामानको फरेन्सिक जाँचको प्रक्रियासमेत अघि बढाएको छ ।
रोशनीले आइतबार राति नै प्रहरीलाई फोन गरी महराले आफूलाई बलात्कार गरेको मौखिक जानकारी गराएकी थिइन् । खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा रोशनीको कोठाबाट फर्किइसकेका थिए । प्रहरीले घटनास्थलमा रक्सीको बोतल, फुटेको चस्माको सिसालगायतका सामान बरामद गरेको छ ।
रोशनीमाथि गरेको दुर्व्यवहारको मुद्दामा अनुसन्धान सुरु गर्न चौतर्फी दबाब बढेपछि गृहमन्त्री रामबहादुर थापाले महानिरीक्षक सर्वेन्द्र खनालसहितका उच्च प्रहरी अधिकारीसित शुक्रबार साँझ छलफल गरेका थिए । छलफल महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा भएको थियो । छलफलमा गृहमन्त्री थापा, महानिरीक्षक खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र नयाँ बानेश्वर वृत्तका डीएसपी दुर्गाराज रेग्मीलगायत सहभागी थिए ।
गृहमन्त्री थापाले छलफलका क्रममा रोशनीमाथि महराबाट भएको दुर्व्यवहारको घटना सम्बन्धमा भइरहेको छानबिनबारे प्रहरी अधिकारीहरूसँग जानकारी लिएका थिए । गृहमन्त्री थापाले छलफलका क्रममा अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् । ‘निष्पक्ष अनुसन्धान गर्नुस्, कसैसँग डराउनु पर्दैन । निर्धक्क भएर छानबिन अगाडि बढाउनोस्,’ थापाको भनाइ उद्धृत गर्दै स्रोतले कान्तिपुरसित भन्यो ।
प्रहरीले आइतबार अदालतबाट पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्ने तयारी भइरहेको स्रोतले उल्लेख गरेको छ ।
‘पीडितको जाहेरी आइसकेकाले महरालाई पक्राउ गरेर नै अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौं,’ प्रहरी स्रोतले भन्यो । कान्तिपुर दैनिकमा खबर छ ।