२० असार २०८३, शनिबार

दशैँलाई तडकभडकमुक्त बनाऔँ : प्रधानमन्त्री

असोज १९, २०७६
दशैँलाई तडकभडकमुक्त बनाऔँ : प्रधानमन्त्री

काठमाडौं –   प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा बडादशैँले हामी सबैलाई प्रेरणा दिन सकोस् भनेका छन् ।

बडादशैँको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, 'राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर हामी अहिले समृद्धिको यात्रामा छौँ । यस यात्रामा समृद्धिसँगसँगै समाजलाई सभ्य, मित्रतापूर्ण, शान्तिपूर्ण र आत्मीयतापूर्ण समाजका रूपमा पनि विकास गर्न सबैको ध्यान जानु आवश्यक छ । '

दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड हो भन्दै उनले आफन्त र छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड बडादशैँलाई सकेसम्म भव्यताका साथ मनाउन पनि जोड दिएका छन् ।

बडादशैँ भव्यतासाथ मनाइरहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलन तोड्दै जानु पनि आवश्यक रहेको उल्लेख गर्दै उनले भनेका छन्, 'दशैँमा स्वास्थ्य, मित्रता, सामाजिक शान्ति र छिमेकीलाई प्रतिकूल असर नपरोस् भनी ध्यान दिनुपर्छ । यस चाडले परिवार, छिमेक, आफन्तमा स्नेह, मायाममता र सद्भाव फैलियोस् ।'

प्रधानमन्त्री ओलीले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा बडादशैँले जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यसरी नै योगदान दिँदै जान सकोस् भनेका छन् । चाडहरू बढी खर्चालु नहोऊन्, हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन सकौँ भन्दै उनले सबैमा शुभकामना व्यक्त गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्