
काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोग मुद्दामा दोस्रा सूचनादाता पनि सामुन्ने आएको पहिलो सूचनादाताका वकिलले बताएका छन् ।
एबीसी न्युजसँग कुरा गर्दै मार्क जैदले दोस्रा व्यक्ति पनि जासूसी अधिकारी भएको र उनले इन्स्पेक्टर जनरलसँग कुरा गरेको बताए ।
आइतवार राति अबेर ट्रम्पले डेमोक्रेटिक नेताहरूको आलोचना गरे र उनीहरूमाथि महाअभियोग लगाइन सक्ने बताए ।
दोस्रा सूचनादाताका दाबीहरूको विस्तृत विवरण आएको छैन ।
तर ती व्यक्तिलाई जुलाई २५ मा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीसँग ट्रम्पले गरेको फोन कलसँग जोडिएको आरोपको ज्ञान रहेको जैदले बताए ।
त्यही कलबाट महाअभियोगको छानबिन शुरू भएको हो । अगस्ट महिनामा पहिलो सूचनादाताले यसको खबर गरेका थिए ।
दोस्रा सूचनादातासँग फोन कलका विषयमा थप प्रत्यक्ष सूचना रहेको द न्युयोर्क टाइम्सले छापेको छ ।
उक्त सूचनादाताका पनि जैद नै वकिल हुन् कि हैनन् भन्ने खुलेको छैन ।
ट्रम्पका व्यक्तिगत वकिल रुडी जिलियानीले ट्वीट गर्दै अर्को गोप्य स्रोत रहेको विषयले आफूलाई आश्चर्य नपारेको बताए अनि यो छानबिन राजनीतिक उद्देश्यले प्रेरित रहेको भन्दै मिडियाप्रति खनिए ।
डेमोक्रेट पार्टीले नेतृत्व गरेको छानबिन समितिले ट्रम्पको फोनकल प्रत्यक्ष देख्ने वा थप जानकारी राख्ने व्यक्तिसँग कुराकानी गर्न उत्सुकता देखाएको छ ।
बीबीसीबाट