काठमाडौं – संयुक्त राष्ट्रसंघमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देखाएको व्यवहारबाट चित्त नबुझाएपछि साउदी अरबका युवराज मोहम्मद बिन सुल्तानले विमान खोसेको खुलासा भएको छ ।
पाकिस्तानको पत्रिका फ्राइडे टाइम्सले दाबी गरेअनुसार, न्युयोर्कबाट पाकिस्तान फर्किने क्रममा इमरान खानको विमानमा कुनै प्राविधिक गडबडी थिएन । त्यसपछि इमरान खान सामान्य उडानबाट पाकिस्तान फर्केका थिए ।
राष्ट्रसंघको बैठकमा भाग लिनुअघि इमरान साउदी अरब पुगेका थिए । साउदीबाट न्युयोर्कको यात्रा इमरानले कमर्सियल फ्लाइटबाट गर्न लागेका थिए । त्यो देखेर साउदी युवराजले उनलाई आफ्नो साथी भन्दै न्युयोर्क जानका लागि शाही विमान उपलब्ध गराए ।
राष्ट्रसंघमा कश्मीर मुद्दामा समर्थन जुटाउन नसकेपछि इमरान खानले कूटनीतिमा परिवर्तन गरे । उनले मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद र टर्कीका राष्ट्रपति रेचेप तैयब अर्दोआनलाई आफ्नो पक्षमा बयान दिन भने ।
पाकिस्तानले मलेसिया र टर्कीसँग मिलेर आफूलाई इस्लामिक देशहरूको प्रतिनिधिका रूपमा प्रस्तुत गर्यो ।
साउदी अरबले चाहिँ यसलाई अपमानका रूपमा लियो । इमरानको कूटनीतिक चालबाट क्रुद्ध बनेका बिन सलमानले फर्किंदा इमरानलाई आफ्नो शाही विमान चढ्न दिएनन् ।
तर बिन सलमानले आदेश दिनुअघि इमरान उनको विमान लिएर उडिसकेका थिए । त्यसपछि युवराज बिन सलमानले बीच बाटोबाटै विमान फर्काउन आदेश दिए ।
बेइज्जती भएपछि पाकिस्तानले क्षति न्यूनीकरण गर्न विमानमा प्राविधिक गडबडी आएको बतायो । त्यसपछि इमरान खान भोलिपल्ट सामान्य कमर्सियल फ्लाइटबाट इस्लामाबाद पुगे ।
एजेन्सी